ट्रम्पप्रति आशावादी हुने अमेरिकी तुलनात्मक रूपमा कम



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका आधाभन्दा बढी अर्थात् ५४ प्रतिशत नागरिक राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आशावादी नै रहेका छन्। एक सर्वेक्षणमा ट्रम्पले अमेरिकालाई राम्रो र सम्वृद्ध बनाउने उनीहरूले विश्वास व्यक्त गरेका हुन्।

तर यो अवधिमा विगतका सर्वेक्षणको नतिजासँग तुलनामा आशावादी हुनेको संख्या पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसको भन्दा कम रहेको छ। ओबामाप्रति आशावादी हुने ६१ प्रतिशत र बुसको कार्यकालमा यो संख्या ६६ प्रतिशत रहेको थियो। सर्वेक्षणमा सहभागीमध्ये ४० प्रतिशत अमेरिकी नागरिकले अमेरिकालाई राम्रो बनाउन ट्रम्पले राम्रो काम गर्न नसक्ने मत राखेका छन्।
त्यतिबेला सर्वेक्षणमा ओबामाप्रति अविश्वास राख्नेको संख्या ३० प्रतिशत र बुसका लागि २३ प्रतिशत मात्रै रहेको थियो।

वातावरण संरक्षणको क्षेत्रमा ट्रम्पले राम्रो काम गर्छन् भन्ने विश्वास गर्नेको संख्या ३६ प्रतिशत मात्रै छ। तर ५७ प्रतिशतले वातावरण संरक्षणका लागि ट्रम्पले राम्रो काम गर्न नसक्ने बताएका छन्।
सन् २००९ मा गरेको यस्तै खालको एक सर्वेक्षणमा ७९ प्रतिशत अमेरिकी जनताले वातावरण संरक्षणका लागि ओबामाले राम्रो काम गर्ने विश्वास व्यक्त गरेका थिए। त्यसै गरी सन् २००१ मा गरिएको सर्वेक्षणमा ५१ प्रतिशत अमेरिकी जनताले राष्ट्रपति बुसबाट वातावरणका लागि राम्रो काम हुने अपेक्षा गरेका थिए।
ऊर्जा नीतिका बारेमा सोधिएको प्रश्नमा ४६ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पले अमेरिकाको ऊर्जा नीति राम्रो बनाउने विश्वास गरेका छन् भने ४८ प्रतिशतले उनको नीति राम्रो नहुने विचार राखेका छन्।

प्रतिक्रिया दिनुहोस्