इरानद्वारा सिरियामा भएको आतङ्ककारी आक्रमणको निन्दा



तेहरान, २९ फागुन । सिरियाको राजधानी दमासकसमा शनिबार भएको आतङ्ककारी आक्रमणको इरानको विदेशी मन्त्री कडा शब्दमा निन्दा गर्नुभएको छ ।

उहाँले यस आक्रमणलाई घृणित र लज्जितका संज्ञा दिनुभएको छ । इरानीयन विदेशी मन्त्रीका प्रवक्ता बहरम कासेमीद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

सिरियाको राजधानी दमासकस नजिकै शनिबार भएका दुई विष्फोटमा परी कम्तीमा ४४ जनाको मत्यु भएको र अन्य १०० भन्दा बढी व्यक्ति घाइते भएका थिए । सोही घटनाको इरानी विदेशी मन्त्रीले निन्दा गर्नुभएको हो ।

सिया मुसलमान समुदायको पवित्र धार्मिकस्थलमा यो विस्फोट गराइएको थियो ।

बाब अल साघिर चिहान क्षेत्रमा दुई वटा विष्फोट भएका र घटनामा थुप्रै सिरियाली नागरिकको मृत्यु भएको सिरियाको राष्ट्रिय समाचार संस्था सानाले जनाएको थियो ।

अरबी सञ्चारमाध्यहरुले सिया मुसलमानका धर्म गुरुहरुको मृत शरीर राखिएको ठाउँलाई असर पुर्याउने ध्येयका साथ विष्फोट गराइएको जनाएका छन् भने कतिपय सञ्चारमाध्यमले उक्त क्षेत्रमा इस्लामिक स्टेट (आइएस) समूहलाई लक्षित गरी सिरियाली प्रशासनद्वारा आक्रमण गरेको बताइएको छ ।

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट (आईएस) हाबी हुँदै गए ।

यस आन्दोलनमा परी सन् २०११ देखि हालसम्म ३ लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी यस द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँले आफ्नो घर छोडी देशभित्र र विदेशमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस÷एपी

प्रतिक्रिया दिनुहोस्