ह्याप्पी होली



मुलुकमा रगतको होली शुरू भएको बेलामा नेपाली जनता आज रङको होली खेल्ने तयारी गरिरहेका छन्। सप्तरी र कञ्चनपुरमा रगतको होली खेल्ने काम भएको छ। कुनै नेपाली राज्यबाट खेलिएका होली हुन् भने कुनै मित्रराष्ट्रको एउटा सुरक्षा संयन्त्रबाट खेलिएको होली हो। दुवै गलत हुन्। तर, ती दुवैलाई एउटै तराजुमा राखेर जोख्ने कामसमेत तथाकथित ‘वुद्धिजीवी’हरूले गरिरहेको पाइएको छ। त्यो पनि गलत छ। राजविराजको घटना आन्तरिक मामिला हो त्यसको आन्तरिक रूपमा नै समाधान गरिनुपर्छ। जनतालाई भिडाउने र उनीहरूलाई मृत्युको मुखमा पुर्याउने कार्यमा संलग्न नेताहरू यसका लागि दोषि छन्। कञ्चनपुर घटना बाह्य र गम्भीर घटना हो यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्दछ भन्ने धरहरा वरपर सबैको राय छ।

तर, एउटै तराजुमा जोख्ने नेपाली बुद्धिजीवीको बुद्धि देखेर भने भारतका बुद्धिजीवी एसडी मुनीसमेत खित्का छोडेर हाँसे रे भन्ने धरहराले सुनेको छ। छिमेकी भारतमै पनि काश्मीरमा पाकिस्तानको तर्फबाट भएको आक्रमण र गुजरातको पटेल प्रकरण वा तेलंगना प्रकरण वा तमिलनाडुको ‘पानी झगडा’मा मारिएका मान्छेलाई एउटै तराजुमा राखेर कसैले जोख्यो भने त्यसबाट दुनियाँ हाँस्ने निश्चित छ। नेपाली बुद्धिजीवीहरूले त्यति पनि अध्ययन नगरी कसरी बुद्धिजीवीको पगरी गुथेछन् नबुझेर धरहरा हैरान छ। जे भए पनि नेपाली जनतालाई ह्याप्पी होली !

प्रतिक्रिया दिनुहोस्