हिंसात्मक प्रदर्शनीमा ३१ जना दोषी ठहर



नयाँदिल्ली, (एजेन्सी)
भारतको एक अदालतले राजधानी दिल्लीनजिकको मारुती सुजुकी कार निर्माण गर्ने मुख्य कारखानामा सन् २०१२ मा हिंसात्मक प्रदर्शन गरेको अभियोगमा ३१ जना कामदारलाई अभियुक्त ठहर गरेको छ। तर सोही विरोध प्रदर्शनमा भाग लिने अन्य १ सय १७ जनालाई भने सो अदालतले सफाइ दिएको छ।

उक्त प्रदर्शनको दौरान कारखानाका एक जना वरिष्ठ व्यवस्थापकको पिटेरै हत्या गरिएको थियो। सो घटनामा घाइते हुने ८० भन्दा बढी व्यक्तिमध्ये दुई जना जापानी नागरिक पनि रहेका थिए।

तलब र कामको सम्झौतालाई लिएर उठेको विवादका कारण हिंसात्मक घटना भएको बताइएको थियो। सोही घटनाका कारण केही समय कार उत्पादन कार्य ठप्प हुन पुगेको थियो। शुक्रबार अदालतको सो निर्णयका कारण स्थिति तनावपूर्ण हुँदै गएकाले मानेसारमा रहेको उक्त कारखानाबाहिर थप सुरक्षा प्रहरी तैनाथ गरिएको थियो।

अभियुक्त ठहर भएका मध्ये सात जना कामदारलाई आम नरसंहारको प्रयासमा दोषी ठहर गरिएको छ। अघिल्लो दिन ३० हजारभन्दा बढी कामदारले खाना बहिष्कार गर्दै यदि आफ्ना सहकर्मीहरूलाई न्याय नदिलाइएको खण्डमा थप विरोध कार्यक्रमको आयोजना हुने चेतावनीसमेत दिएका थिए।

उक्त हिंसात्मक घटनाका लागि व्यवस्थापन पक्ष र कामदारहरूले एकले अर्कालाई दोष दिँदै आएका थिए। हरियाणा राज्यमा रहेको यस विशाल कारखानामा शुरूमा एक जना कामदार र सुपरभाइजरबीच चलेको भनाभनबाट ठूलो रुप लिन पुगेको बताइएको छ। मारुती सुजुकीबाट उत्पादित कारले भारतको कार बजारको ५० प्रतिशत भाग ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्