हार्भडको छनौटमा परेका



रवीन्द्रका चित्र प्रदर्शनीमा
हार्भड विश्वविद्यालयको छनौटमा परी यसै साता अमेरिका जान लागेका कलाकार रवीन्द्र श्रेष्ठको दोस्रो एकल कला प्रदर्शनी बौद्धस्थित तारागाउँ म्युजियममा शुक्रबारदेखि शुरु भएको छ। ४ दिनसम्म चल्ने प्रदर्शनीमा श्रेष्ठले भूकम्पपछिको नेपालको अवस्था र मानवीय संवेदनामा आधारित कलाकृति राखेका छन्।

२०७२ वैशाखको भूकम्पलगत्तै उनले सम्पदास्थलमा पुगेर त्यसको भावमा केन्द्रित रही बनाएका चित्र प्रदर्शनीमा राखेका हुन्। मठ–मन्दिर र पुरातात्विक सम्पदालाई कलात्मकरूपमा चित्रमा उतारेर श्रेष्ठले त्यत्तिबेलाको सामाजिक अवस्थालाई चित्रमा उतारेका छन्। भूकम्पपछिको सम्पदाको अवस्थालाई कलात्मकरूपमा चित्रण गरेका रेखाचित्रले प्रदर्शनीको रौनकता बढाएको छ। अर्कातिर उनले विश्वमा आक्रान्त बन्दै गइरहेको युद्ध र त्यसले समाजमा पारेको मनोदशालाई फिंगर प्रिन्टमार्फत् कलात्मकरूपमा चित्रण गरेका छन्।

‘प्रदर्शनीमा मानवीय संवेदनासँग जोडिएका विषयलाई उतारेको छु। आजको विश्वयुद्ध र अशान्तिले समाज आक्रान्त बनेको छ। त्यसले मानव जातिमा देखा परेको दुखान्त मनोदशालाई सिर्जनात्मकरूपमा ढाल्ने कोशिस मैले गरेको छु –श्रेष्ठले आफ्ना कलाकृतिका बारेमा भने। सम्पदा र मानवीय दुखान्तका क्षणलाई रवीन्द्रले कलात्मकरूपमा चित्रमा व्यक्त गरेको तारागाउँ म्युजियमका निर्देशक रोशन मिश्रले बताए। मिश्रले भने– ‘नेपाली कलामा थिमेटिकरूपमा काम गर्न रुचाउने श्रेष्ठका कलामा समसामयिक विश्वको सन्दर्भलाई कलात्मक सौन्दर्यमा ढालेको पाइन्छ।’

त्यस्तै हार्भड विश्वविद्यालयको छनौटमा परी अमेरिका जान लागेका श्रेष्ठले त्यसको पूर्वसन्ध्यामा काठमाडौंमा एकल प्रदर्शनी गरेका हुन्। उनी अमेरिकाको बोस्टन सिटीमा रहेको हार्भड विश्वविद्यालयको आयोजनामा हुन लागेको हार्भड साउथ एसिया इन्स्च्यिुट भिजिटिङ आर्टिस्ट प्रोग्राममा दक्षिण एसियाबाट छनौटमा परी सहभागी हुन् लागेका छन्। दक्षिण एसियाली मुलुकबाट सो कार्यक्रममा श्रेष्ठसहित ४ जना कलाकार छनौटमा परेका छन्। मार्च १८ देखि मे १ सम्म हुने सो कार्यक्रममा नेपाली कलाकार छनौटमा परेको यो पहिलो अवसर हो।

कार्यक्रममा सहभागी हुनेबारे जानकारी गराउँदै श्रेष्ठले भने– ‘विश्वको प्रसिद्ध विश्वविद्यालयले मेरो कलाकृति छानेर सहभागिताका लागि त्यहाँ जान पाउनु देशकै लागि गौरवको कुरा हो। विश्वको कलाको केन्द्रमा नेपाली समसामयिक कलाको उपस्थिति गराउन पाउनु हाम्रा लागि अर्थपूर्ण छ। यस्तो मौका कमै राष्ट्रका कलाकारले पाएका छन्। यो मौका दिएकोमा हार्भडप्रति कृतज्ञता व्यक्त गर्दै आफूमा निकै ठूलो जिम्मेदारी आएको महसुस गरेको छु।’

कार्यक्रममा अन्तरक्रिया, कलासम्बन्धी क्लास, संग्रहालय तथा पुस्तकालय भ्रमण राखिएको कलाकार श्रेष्ठले बताए। सो कार्यक्रममा श्रेष्ठले मानवीय संवेदनाका विषयमा तयार पारेका कलाकृति राख्ने जनाएका छन्। उनले वि आर अल कनेक्टेड शीर्षकमा फिंगरप्रिन्ट राख्न लागेको बताए।

प्रतिक्रिया दिनुहोस्