लमजुङमा रोधीको उत्सव



लमजुङ, (नेस)। जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालन गरिएको दुई दिने रोधी फेस्टिवलका अवसरमा विविध गीत तथा नृत्यद्वारा जिल्लावासीले भरपुर मनोरञ्जन लिए।

लोपोन्मुख रोधी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक रोधी उत्सव गरिएको हो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा तमु ह्यला छोंज धी गुरुङ राष्ट्रिय परिषद् जिल्ला समितिको सहआयोजनामा सो कार्यक्रम गरिएको हो।

तमुुहरूको उद्गम थलो मानिएको लमजुङमा तमु संस्कृतिमा आधारित रोधीलाई समेटेर उत्सवको आयोजना गरिएको हो। उक्त उत्सवमा लोपोन्मुख ठाडोभाकादेखि चुड्का, कौरा, तान्त्रिक शक्तिमा आधारित कुसुण्डा घाटु, बाह्रमासे घाटु, सति घाटु, सोरठी, चरित्र, झाम्रे, महायानी लामा नृत्य, बोन्पो लामा नृत्य र घ्याब्रे पच्यु नृत्य प्रस्तुत गरिएको थियो। त्यसै गरी, सुनिमाया गीत, स्यार्का नाच, जोरीमाया, हे क्वे, साराङ्गी नाच तथा रोधीघरका नम्बरी भाका प्रस्तुत गरिएको थियो। कार्यक्रममा ८४ वर्षीय ठाडोभाका शिरोमणि भेडीखर्के साइला र नवलोकगायिक मञ्जु विकको ठाडोभाकाको दोहोरी दर्शकहरूले निकै मन पराएका थिए।

बगेको पानी, बुढाको कुरा मान्नुपर्छ नानी, हा ..आ ..बग्यो पानी, लोर्के छानी माया लगाऊ नानी होला र यो यसो माया जाला। यो बुढाको छैन भर भाकामा भेडीखर्केको उपदेशात्मक गीत फर्काउँदै मञ्जुले गाइदिइन् मकैलाई त नि, नौ वर्षदेखि माया लाउँदै आको भानि, मै हुँ तिम्रो परानी, होला र यो योसो माया जाला। म त बस्छु तिम्रै मायामा भुलेर। यसै गरी, बेसीशहरको शान्ति टोला आमा र बाबा समूहकातर्फबाट रोधीको झलक दिने गरी गीतको प्रस्तुति गरिएको थियो। रोधीँमा रात काट्नका लागि कठिन हुने हुँदा निकै लामोसँग लेग्रो तानेर गाइने लम्बरी भाकाको प्र्रस्तुति बाबा र आमा समूहका तर्फबाट गरिएको थियो।

कार्यक्रममा सुन्दरबजार तमु समाजको कौरा, ठोडेनी गाविस, कीर्तिपुरको बाबा समूहको सोरठी नाच पनि निकै अब्बल मानिएको थियो। कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार हुनुका साथै राष्ट्रिय नाचघरमा अधिकृत हुन सफल लमजुङको दुराडाँडाका कृष्ण गुरुङ र लमजुङकै हिलेटक्सारकी गोर्खा जिविसमा इन्जिनियर भएकी मञ्जु गुरुङलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्