पत्रकार संघमा सापकोटा संशोधित विधानअनुसार अधिवेशन



चलचित्र पत्रकार संघ, नेपालको बुधबार ढिलो राति सम्पन्न सातौं महाधिवेशनबाट अध्यक्षमा सन्दीप सापकोटा निर्वाचित भएका छन्। कुल ६८ मत ल्याएर विजयी भएका उनको प्रतिद्वन्द्वी लक्ष्मण सुवेदी थिए।

महिला उपाध्यक्षमा गीता अधिकारी निर्वाचित भएकी छिन्। उनको प्रतिद्वन्द्वी शारदा थापा थिइन्। त्यसै गरी महासचिवको पदमा कडा प्रतिस्पर्धाका बीच अनील यादव निर्वाचित भएका छन्। यादवले २ मतको अन्तरले विजय आवाजलाई पछाडि पारेका थिए।

श्याम अर्याल अशेष अधिकारीलाई पछाडि पारेर संगठन उपाध्यक्ष्ँ निर्वाचित भएका छन् भने सचिवमा कुँवेर गिरीलाई पछाडि पार्दै वैकुण्ठ पराजुली विजयी भएका छन्।

महाधिवेशनले संगठन उपाध्यक्षमा दिनेश सिटौला, समावेशी सचिवमा समीर बलामी, कोषाध्यक्षमा कुबेर डंगोल, सहकोषाध्यक्षमा जीवन पराजुली, समावेशी सदस्यमा विशाल राई र महिला सदस्यमा दीपज्योति थापालाई निर्विरोध निर्वाचित गरेको छ। अधिवेशनले महिला केन्द्रीय सभासद् (पार्षद्) तर्फ नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापाका साथमा जयन सुब्बा मानन्धर र स्वस्तिका चिलवाललाई पनि निर्विरोध निर्वाचित गरेको छ।

नयाँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा सदस्यतर्फ वर्षा बस्नेत सर्वाधिक धेरै ८८ मत पाएर निर्वाचित भइन्। सदस्यहरुमा कृष्ण भट्टराई, उत्सव रसाइली, सुरेश दुलाल, विकास लामिछाने र मनिष कार्की निर्वाचित भएका छन्।
त्यस्तै केन्द्रीय सभासद् (पार्षद्) का लागि भएको निर्वाचनमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीका साथमा डब्बु क्षत्री, राजन घिमिरे, सुव्रत आचार्य, धनबहादुर खड्का, अशोक प्यासी राई, विष्णुप्रसाद सुवेदी र नेमिस गौतम निर्वाचित भएका छन्। त्यसै गरी १६ जना प्रदेश सभासद्मा राजेश खनाल, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, मनोज केसी, आरडी शृंखला, अमृत पुडासैनी, मञ्जु गैरे, योजना पुरी, सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरञ्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनील थापा निर्विरोध निर्वाचित भएका छन्।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सन्दीप सापकोटाले पत्रकार मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिँदै अग्रजहरुले निर्माण गरेको संगठनलाई अनुशासित हुँदै अगाडि बढाउने बताए। नेपाल पत्रकार महासंघका सल्लाहकार पोषण केसीले पत्रकारले समाचार लेख्दा संयमित हुनुपर्ने चर्चा गरे भने चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले संगठनमा धेरै बाधा र चुनौती भएको र यसको समाधानका लागि सबैको हातोमालो आवश्यक रहेको आल्याए। संस्थापक अध्यक्ष भरत शाक्यले निर्वाचन सकिएर बाहिर निस्किएपछि सबैको विजय भएको महसुस गर्नुपर्नेमा जोड दिए।

अधिवेशनमा संघका कुल सदस्य १ सय २० मध्ये १ सय १७ मत खसेको थियो। केही मत भने बदर भएका थिए। अधिवेशनअघि उद्घाटन सत्र र बन्द सत्र सम्पन्न भएको थियो। उद्घाटन संघका अध्यक्ष शान्तिप्रियको सभापतित्वमा सम्पन्न भएको थियो। त्यस सत्रमा विभिन्न संघ–संस्थाका पदाधिकारुहरुले शुभकामना दिएका थिए।

संघको यसपालिको महाधिवेशन संशोधित विधानअनुसार सम्पन्न भएको थियो। नयाँ विधानअनुसार संघको नाम चलचित्र पत्रकार संघ, नेपाल कायम गरिएको छ भने महिला आरक्षण र समावेशी ढंगको निर्वाचन प्रक्रिया अपनाइएको छ।

प्रतिक्रिया दिनुहोस्