ट्रम्पको नयाँ कार्यकारी आदेशविरुद्ध पनि मुद्दा



वासिङटन, (एजेन्सी)
अमेरिकाको हवाई राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको परिमार्जित यात्रा प्रतिबन्ध कार्यकारी आदेशविरुद्ध मुद्दा दायर गरेको छ। उक्त नयाँ कार्यकारी आदेशविरुद्ध अदालत जाने हवाई पहिलो अमेरिकी राज्य बनेको छ।

हवाईका महान्यायाधीवक्ता डुग चिनले संशेधित संस्करण आधारभूतरूपमा पहिला जस्तै भएको बताए। उनले यसलाई ‘मुल्लिम ब्यान–२’ भएको बताए। नयाँ आदेश १६ मार्चदेखि लागू हुनेछ। उक्त कार्यकारी आदेशले ६ वटा मुस्लिम देशका नागरिकलाई ९० दिनसम्मका लागि र सबै शरणार्थीलाई १ सय २० दिनसम्मको प्रतिबन्ध लगाएको छ।

यसअघि दिएको यस्तै खालको कार्यकारी आदेशमाथि संघीय अदालतले रोक लगाएको थियो। यसले अमेरिकी विमानस्थलमा पुगेका हजारौं यात्रीमा अन्यौलताको स्थिति उत्पन्न भएको थियो र उनीहरुले आदेशविरुद्ध प्रदर्शन गरेका थिए।

चिनले नयाँ आदेशका बारेमा भने– ‘केही पनि हेरफेर भएको छैन। यो मुस्लिम बाहुल्य देशबाट आउनेमाथि त्यही दुरुस्त प्रतिबन्ध हो।’

नयाँ आदेशले इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमनका नागरिकमाथि ९० दिनको प्रतिबन्ध लगाएको छ। पहिलो आदेशमा उक्त सूचीमा इराकको नाम पनि समावेश गरिएको थियो तर ताजा आदेशमा यसलाई हटाइएको छ।

परिवर्तन गरिएको भने पनि शरणार्थीलाई लिने विषयमा पहिलेकै प्रतिबन्ध लगाइएको चिनले बताए। स्वीकृत शरणार्थीको संख्यालाई छुट दिँदै नयाँ आदेशले सिरियामाथि लगाइएको अनिश्चित प्रतिबन्धलाई हटाएको छ।

नयाँ आदेशले अमेरिकाको स्थायी निवासीमाथि पनि यसको कुनै असर नगर्ने र धार्मिक अल्पसंख्यकलाई प्राथमिकता दिनसम्बन्धी विवादित भाषा पनि हटाइएको छ।

यो संशोधन कानुनी उजुरी आए पनि गरिएको हो जसमा संघीय अदालतले हस्तक्षेप पनि पर्छ। पहिलो प्रतिबन्धलाई हवाईसहित अन्य थुप्रै राज्यले अदालतमा चुनौती दिएका थिए।
हवाईमा बुधबार उक्त उजुरी दर्ता गरिएको हो। उक्त उजुरीमा यात्रा प्रतिबन्धको आदेशमाथि तत्काल रोक लगाउन माग गरेको छ। यस मामिलामा सुनवाई नयाँ आदेश लागू हुनु एक दिनअगाडि अर्थात् मार्च १५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्