उजेलीको स्कुलमा सुनैको दरबार



काठमाडौंको बौद्धस्थित भुवनडाँडामा रहेको जेनेसिस एकेडेमीको सातौं अभिभावक दिवसमा विभिन्न कलाकार एवं विद्यार्थीले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका छन्।
कार्यक्रममा गायक डिजराज पौडेलले तिमी आउने बाटोमा, सुनैको दरबार जस्ता गीत गाउँदा सबैले उनको स्वरमा स्वर मिलाए। ‘म गायक हुनुभन्दा पहिले शिक्षक थिएँ। यस्तै विद्यार्थी भाइबहिनीसँग गाउँदागाउँदै म गायक बनेको हुँु –कुनै समय शिक्षण पेसामा आबद्ध पौडेलले विगत स्मरण गर्दै भने।

कार्यक्रममा सो विद्यालयमा अध्ययनरत दर्जनौं विद्यार्थीले गीत, नृत्य, तेक्वान्दो, वाद्यवादनलगायत विभिन्न कला प्रस्तुत गरी अभिभावकलाई भरपुर मनोरञ्जन दिलाएका थिए। कार्यक्रममा अर्को आकर्षण बने हास्य कलाकार राजेन्द्र गिरी। टेलिसिरियल हर्के हवल्दारमा गुन्द्रुक साँधेर, ट्वाक्क टुक्क रिटर्नमा बप माइलाका रूपमा अभिनय गरिरहेका उनले देखाएको जादुमा विद्यार्थी रोमाञ्चित भए। गिरीले रूपकी रानी तिमी बोलको गीतमा प्रस्तुत गरेको नृत्य र जादुको संयोजनलाई पनि विद्यार्थी र अभिभावकले रुचाए।

कार्यक्रममा म्यागासेसे अवार्ड विजेता डा. महावीर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। स्कुलले २०७२ सालको विनाशकारी भूकम्पपछि बीबीसी साझा सवालले तयार पारेको वृत्तचित्र बाँचेका मान्छेहरुकी उजेली तामाङलाई समेत छात्रवृत्ति प्रदान गरी अध्ययन गराइरहेको छ।

प्रतिक्रिया दिनुहोस्