जीवन काँडा कि फूल अब फिल्ममा



जोन्टा क्लब काठमाडौंले महिला योगदानको मूल्यांकन गर्दै जोन्टा रोज डे र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर झमक घिमिरेको आत्मवृतान्त जीवन काँडा कि फूलमाथि बनेको फिल्मको सोमबार राजधानीमा च्यारिटी शो गरिएको छ।

विनोद विष्टले निर्माण र निर्देशन गरेको फिल्ममा मस्तिश्क पक्षघातबाट पीडित साहित्यकार झमक घिमिरेको जीवनी समेटिएको छ। फिल्मबाट उठेको रकम महिला सशक्तीकरण कार्यक्रममा खर्च गरिने बताइएको छ।

साहित्यकार झमक घिमिरेको जन्म जुलाई, १९८० मा धनकुटामा भएको हो। उनले आफ्नो देब्रे खुट्टाले पुस्तक लेखेकी हुन्। जन्मजात मस्तिश्क पक्षघात भएकी घिमिरे आफ्नो देब्रे खुट्टाबाट लेख्ने गर्छिन्। घिमिरे प्रतिष्ठित साहित्य पुरस्कार मदन पुरस्कारबाट पनि सम्मानित भएकी छिन्। घिमिरेले आफ्नो आत्मवृतान्त जीवन काँडाकी फूलबाटै नेपाली साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको थियो।

जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सिर्जना राणाले हरेक मार्च ८ मा पर्ने महिला दिवसलाई रोज डेकारूपमा मनाउँदै, परिवर्तित समयको आभाष हुने बताइन्। च्यारिटी शोमा कार्यक्रममा जयन्ती मेमोरियल ट्रस्टले साहित्यकार झमक घिमिरेलाई १ लाख रुपियाँको पुरस्कार प्रदान गरेको छ। जयन्ती मेमोरियल ट्रस्टले घिमिरेको संघर्षका लागि तथा नेपाली महिलाको अवस्था सुधारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो।

प्रतिक्रिया दिनुहोस्