सैनिक अस्पतालमा आक्रमण, ३० जनाको मृत्यु



काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलका सबैभन्दा ठूलो सैनिक अस्पतालमाथि केही बन्दुकधारी आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य दर्जनौं घाइते भएका छन्।

आक्रमणकारीले सैन्य अस्पतालको प्रमुखद्वारमा एउटा आत्मघाती आक्रमणपछि केही आक्रमणकारी अस्पतालमा प्रवेश गरी त्यहाँका कर्मचारी तथा बिरामीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणपछि अफगान कमान्डो हेलिकोप्टर अस्पतालको छतमा अवतरण भएको र दुई पक्षबीच घन्टौंसम्म दोहोरो भिडन्तमा ४ जना आक्रमणकारी मारिएका थिए।

प्रत्यक्षदर्शीले आक्रमणकारीहरू डाक्टरको पहिरणमा प्रवेश गरेको बताएका थिए। अस्पतालबाट सबै बिरामीलाई बाहिर निकालिसकेको अधिकारीहरूले बताए। कट्टरपन्थी संगठन इस्लामिक स्टेटले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। तालिवानले उक्त घटनामा आफ्नो कुनै भूमिकालाई अस्वीकार गरेको छ।

अस्पतालका एक जना कर्मचारीले बीबीसीलाई सरदार दाउद अस्पतालको प्रमुखद्वारमा विस्फोट भएको आफूले सुनेको बताए। त्यसको लगत्तै गोलाबारी शुरू भएको हो।

अस्पतालको एक जना डाक्टरले आफूले एक बन्दुकधारी अस्पतालमा लगाउने कोटमा देखेको बताए। उनले कोटबाट बन्दुक निकाले र गोली बर्साउन शुरू गरे।
४ सय बेड भएको उक्त अस्पताल अमेरिकी दूतावास नजिकै छ। अस्पतालबाट बचेर बाहिर निस्कन सफल डाक्टर अब्दुल कादिरले भने– ‘सेटो कोट लगाएका एक बन्दुकधारीले ममाथि गोली चलाए। म भर्याङबाट तल कुदेँ। त्यसपछि उनले मेरा अन्य सहकर्मीहरूमाथि गोली चलाए।

उक्त घटनालाई लिएर राष्ट्रपति असरफ घानीले भने– ‘यस हमलाले सबै मानवीय मूल्य कुल्चेको छ। सबै धर्ममा अस्पताललाई सुरक्षित ठान्ने गर्छ र यसमा भएको हमला पूरै अफगानिस्तानमाथिको हमला हो। अफगानिस्तानका दोस्रो प्रमुख नेता अब्दुला अब्दुलाले पनि यस आक्रमणको कडा निन्दा गरेका छन्। उनले ट्विटर एकाउन्टमा भने– ‘नागरिकको रगतको बदला लिने प्रतीज्ञा गरेको छु।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी कम्तीमा पाँच जना तालिवान लडाकूको मृत्यु भएको छ।

डफटनीमा रहेका लडाकूहरूलाई लक्षित गरी मध्यरातमा ड्रोन आक्रमण गरिएको र दुईवटा सवारीसाधन, इन्धन भण्डारणलगायतमा क्षति पुगेको जिल्ला गभर्नर नसुरुद्दिन नजारीले बुधबार सिन्ह्वालाई बताए।

मध्यएसियाको हिमाली देशका दुर्गम ठाउँहरूमा नेटोको नेतृत्व र आरएसको सहयोगमा लडाकूमाथि आक्रमण भइरहेको छ। गत शनिबार राति पनि अफगान सेनाको हवाई आक्रमणमा परी १८ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्