क्षेप्यास्त्र परीक्षणको गुटेरेजद्वारा निन्दा



संयुक्त राष्ट्रसंघ, (एजेन्सी)
उत्तर कोरियाले एकैपटकमा चार वटा प्रतिबन्धित शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले सोमबार निन्दा गरेका छन्।

यस्ता कार्य सुरक्षा परिषद्को प्रस्ताव उलंघन गरेको यसले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर संकट ल्याउने उनले बताए। त्यसै गरी उत्तरी कोरियाले गरेको उक्त परीक्षणको दक्षिणी कोरिया, जापान र अमेरिकालगायत अन्य थुप्रै देशले निन्दा गरेको छ।

उक्त चारवटै मिसाइल करिब १ हजार किलोमिटरको दूरी तय गरी समुद्रमा झरेको थियो। चारमध्ये तीन वटा मिसाइल जापानले आफ्नो निर्बाध आर्थिक प्रयोजनका लागि उपयोग गर्दै आएको जापानी सागरमा झर्न पुगेको दक्षिण कोरियाली तथा जापानी अधिकारीहरूले बताएका थिए। यसअघि केही महिनादेखि उत्तर कोरियाले विभिन्न शृंखलाका साना, ठूला अत्याधुनिक क्षेप्यास्त्र निरन्तर परीक्षण गर्दै आइरहेको थियो। अमेरिका र दक्षिण कोरियाबाट कुनै पनि बेला आक्रमण हुनसक्ने दाबी गर्दै आइरहेका उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन आफ्नो मुलुकको आणविक शक्ति र क्षेप्यास्त्र क्षमतामा वृद्धि गराउनेतर्फ खुलेरै लागेका छन्।

प्रतिक्रिया दिनुहोस्