मोसुलमा सरकारी कार्यलयमा इराकी सुरक्षाबलको कब्जा



बग्दाद, (एजेन्सी)
इराकी सुरक्षाबलले मोसुलको मुख्य सरकारी कार्यालयमाथि पुनः कब्जामा लिएका छन्।

इस्लामिक कट्टरपन्थी समूह इस्लामिक स्टेटका लडाकूसँग युद्ध लडिरहेका इराकी सेनाले आफ्नो सबैभन्दा छरितो दस्ताले रातारात अचानक आक्रमण गरेको बताएको छ।

यस सफलताले घना आवादी भएको पुरानो शहरमा आक्रमणका लागि मार्ग प्रसस्त हुने र उक्त घना आवादी भएको इलाकामा आईएसका हजारौं कट्टरपन्थी लडाकू हुनसक्ने अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसंघले पश्चिम मोसुलमा ८ लाख नागरिक बसोबास गरिरहेका अनुमान गरेको छ। मोसुल इराकमा आईएसको अन्तिम गढ हो। विगत जनवरीमा शहरको पूर्वी हिस्सामा सुरक्षा बलले कब्जा गरेको थियो।

इस्लामिक स्टेटको प्रमुख गढ मानिएको मोसुलमाथि पुनः कब्जा गर्ने अभियानअन्तर्गत भिषण तयारीका साथ भइरहेको द्वन्द्वमा रासायनिक हतियारको प्रयोगसमेत भएको जनाइएको छ। गत बिहीबार भएको उक्त हमलामा कम्तीमा १२ जना घाइते भएको थियो।

इरबिलस्थित अन्तर्राष्टिय रेडक्रसका एक चिकित्सकले बीबीसीलाई उक्त घटनाको पुष्टि गरेका थिए। उक्त आक्रममा ११ वर्षीय एक बालक गम्भीररूपमा श्वासप्रश्वास र छालाको समस्याबाट पीडित भएका थिए भने एकमहिने बालक पनि घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्