ट्रम्पद्वारा नयाँ कार्यकारिणी आदेशमा हस्ताक्षर



वासिङटन, (एजेनसी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बाहुल्य राष्ट्रका शरणार्थी र अन्य नागरिकलाई ४ महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्नेसम्बन्धी परिमार्जित नयाँ आदेशमा सोमबार हस्ताक्षर गरेका छन्।

यसअघि मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई ४ महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धमा ट्रम्पले जारी गरेको आदेशमा ७ देश रहेका र यस पछिल्लो नयाँ आदेशमा इराकलाई भने हटाइएको छ।
अमेरिका प्रवेश गर्नबाट निषेधित सूचीका मुस्लिम बाहुल्य अन्य ६ वटा मुलुकका इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया रहेका छन्। मुस्लिम बाहुल्य यी ६ मुलुकका शरणार्थीलगायत अन्य यात्रुलाई १ सय २० दिनका लागि प्रतिबन्ध लगाइने यो कार्यकारी आदेश १६ मार्चदेखि लागू हुनेछ।

ट्रम्पले करिब एक महिनाअघि जारी गरेको कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीले यसअघि नै जानकारी दिएका थिए। परिमार्जन नयाँ आदेशमा अमेरिका प्रवेश गर्नबाट निषेधित मुलुकको सूचीबाट इराकलाई हटाइने जानकारी पनि दिइएको थियो।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले दबाब दिएका कारण ट्रम्प प्रशासन यस्तो नयाँ कार्यकारी आदेश जारी गर्ने मनस्थिति र निर्णयमा पुगेको ४ अमेरिकी उच्च अधिकारीले जनाएका थिए। आतंककारी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूहविरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्वाह गर्दै अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेको हुँदा उक्त दुवै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्वनिर्णयमा पुनः विचार गर्न निरन्तर दबाबमूलक अनुरोध गर्दै आएका थिए।

ट्रम्प प्रशासनका एक उच्च अधिकारीले मुस्लिम बाहुल्य मुलुकका नागरिकलाई ४ महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने नयाँ कार्यकारी आदेश एकदमै महत्त्वपूर्ण उपाय भएको भन्दै त्यसको बचाउ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्