उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्यास्त्र प्रक्षेपण



सोल, (एजेन्सी)
उत्तर कोरियाले पुनः एकैपटक चारवटा प्रतिबन्धित शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली अधिकारीहरुले सोमबार जनाएका छन्।

उक्त चारवटै क्षेप्यास्त्र करिब एक हजार किलोमिटरको दूरीसम्म आकाशमा उडेपछि समुद्रमा खसेका थिए। चारमध्ये तीनवटा क्षेप्यास्त्र आर्थिक प्रयोजनका लागि उपयोग गरिँदै आएका जापानी सागरमा झर्न पुगेको दक्षिण कोरियाली तथा जापानी अधिकारीहरुले बताएका छन्।

केही समयअघि वासिङ्टन र सोल मिलेर संयुक्तरूपमा विशाल सैनिक अभ्यास गरेको कारण त्यसकै प्रत्युत्तरमा प्योङयाङले ती क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने अनुमान पनि ती दुवै मुलुकका सरकारी अधिकारीहरुले गरेका छन्।

परीक्षण गरिएका क्षेप्यास्त्रहरु केकस्तो खालका वा कत्तिको शक्तिशाली हुन् भन्ने तत्कालै खुल्न नसके तापनि प्रहार गरिएका क्षेप्यास्त्रले तय गरेको दूरीका आधारमा पक्कै पनि तिनीहरु लामो दूरी क्षमताका हुनुपर्ने अनुमान गरिएको छ।

केही महिनायता उत्तर कोरियाले विभिन्न शृंखलाका साना, ठूला आधुनिक क्षेप्यास्त्रहरु निरन्तर परीक्षण गर्दै आइरहेको थियो। अमेरिका र दक्षिण कोरियाबाट जहिले पनि उत्तर कोरियालाई खतरा रहेको भन्ने मानसिकता बोक्ने गरेका उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो मुलुकको आणविक शक्ति र क्षेप्यास्त्र क्षमतामा वृद्धि गराउनेतर्फ खुलेरै लागिरहेको बताइएको छ।

प्योङयाङको पछिल्लो यस कदमपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर र दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका उच्च पदाधिकारी किम क्वाङ्जिनबीच टेलिफोनमा कुराकानी हुँदा क्षेप्यास्त्र परीक्षणको निन्दा गरिएको र कुन प्रकारले उत्तर कोरियाउपर थप नाकाबन्दी लगाएर प्रभावकारी दबाब दिन सकिन्छ भन्नेबारेमा आपसी सहयोग गर्न गम्भीर छलफल भएको पनि दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जनाएको छ।

उत्तर कोरियाको सम्भाव्य खतरनाक गतिविधिको सामना र नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले अत्याधुनिक हातहतियारसहित दक्षिण कोरियामा २८ हजार ५ सय र जापानमा ५० हजार सेना तैनाथ गर्दै आएको छ। विगतमा पनि सोल र वासिङ्टनले वार्षिक संयुक्त सैनिक अभ्यास गर्दा किमले पटकपटक ती राष्ट्रमा आणविक आक्रमण गर्ने चेतावनी दिने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्