बर्मामा घन्किएको नेपाली संगीत



अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मिक संघको आयोजनामा म्यान्मार (बर्मा) का विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेपाली कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरी दर्शकको मन जितेका छन्।

पहिलो चरणमा सांखाइमा रहेको शिव धाममा शिवरात्रिको अवसरमा आयोजित तीनदिने मेलामा उपस्थित भक्तजनलाई मनोरञ्जन दिन आयोजना गरिएको सांगीतिक कार्यक्रममा लगभग ५ लाख दर्शकका बीच नेपाली कलाकारको टोलीले गीत र हास्य प्रस्तुतिका साथमा नृत्य प्रस्तुत गरेका थिए।

त्यसै गरी दोस्रो चरणमा प्यु लिङ र माण्डलेमा आयोजित कार्यक्रममा नेपाली कलाकार टोलीले प्रस्तुत गरेको कार्यक्रममा स्थानीय नेपालीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम सञ्चालक तथा हास्य कलाकार शिरोमणि दवाडीले जानकारी गराएका छन्।

गायक आनन्द कार्की, श्रीकृष्ण लुइँटेल, गायिका प्राश्ना शाक्य र हास्य कलाकार तथा उद्घोषक शिरोमणि दवाडीले प्रस्तुति दिएका हुन्। म्यान्मारमा पहिलोपटक पुगेका गायक कार्की र गायिका शाक्यका सुमधुर गीतले उपस्थित दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गरेको थियो। नेपाली गीत, संगीतलाई ज्यादै रुचाउने म्यान्मारबासी बीच पूर्वपरिचित गायक लुइँटेलका प्रस्तुतिले उपस्थित दर्शक नचाएको थियो भने हास्य कलाकार शिरोमणि दवाडीले बीचबीचमा प्रस्तुत गरेको हास्यव्यंग्य शैलीको उद्घोषणले हँसाएको थियो। यसअघिका विभिन्न कार्यक्रममा आफ्ना हास्य शैलीका गीतमार्फत् म्यान्मारबासीलाई सांगीतिक संवाद चखाइसकेका लुइँटेललाई पुनः यसपटक पाउँदा प्रायः हरेक प्रस्तुतिमा उनका फ्यानले गीत गुनगुनाउँदै हुटिङ गरेर उनलाई साथ दिएका थिए।

घण्टौंको यात्रा गरेर कार्यक्रम हेर्न भेला भएका दर्शकले नेपाली कलाकारलाई लामबद्ध भई मञ्चमै उक्लेर माला लगाइदिएर गरेको स्वागतले नेपाली कलाकार निकै खुसी देखिएका थिए। नेपाली कलाकारलाई समन्वय गर्ने थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले कार्यक्रम सफल रहेकोमा सबैले गर्व गरेको बताए। धार्मिक संस्थाको आयोजनामा नेपालबाट आएर मेला सफल बनाइदिएकोमा खुसी व्यक्त गर्दै उनले यस कार्यक्रमले नेपाल र बर्माबीचको कला तथा सांस्कृतिक सम्बन्ध निकै सुदृढ हुने विश्वास व्यक्त गरे। त्यस्तै नेपाली कलाकार टोलीको नेतृत्व गर्ने गायक आनन्द कार्कीले बर्मा आफैंमा नेपाली संस्कृति र सनातन परम्पराका लागि महत्त्वपूर्ण स्थल रहेको स्मरण गराए।

नेपाली कलाकार टिमको स्वागतका लागि आयोजक संस्था अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मिक संघको सांस्कृतिक विभागले नेपाली सांस्कृतिक झाँकी, गीत तथा नृत्य प्रस्तुत गरेका थिए। बर्मामा क्रियाशील हिन्दु तथा बौद्ध धर्मावलम्बीको एक मात्र छाता संस्थाका रूपमा रहेको यस संघका अधीनमा देशभर ३६ शाखा छन् भने ३ सय ६० मन्दिर रहेका छ्न। बर्मामा लगभग अढाइ लाख नेपालभाषी बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्