ओबामालाई फ्रान्सको राष्ट्रपति बनाउने अभियान



पेरिस, (एजेन्सी)
फ्रान्समा यसै वर्षको अप्रिलमा २५औं राष्ट्रपति चयनका लागि चुनाव हुन गइरहेको छ। यस चुनावलाई लिएर अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा पनि चर्चामा आइरहेका छन्।

फ्रान्सेली मतदाता उनलाई राष्ट्रपति चुनावमा लड्नका लागि माग गरिरहेका छन्। उनीहरूका अनुसार चुनावमा उठनका लागि अहिले पनि पर्याप्त समय बाँकी रहेको छ।

वास्तवमा यो अनौठो लाग्ने मागको चर्चा ४ जना साथीहरूको एउटा समूहले ‘ओबामा १७ नामक वेबसाइट बनाएपछि भएको हो। यसमा उनीहरूले ओबामालाई फ्रान्सको राष्ट्रपति बनाउनका लागि गत सोमबारबाट अभियान थालेका थिए। उनीहरूले अनलाइन याचिका पनि हालेका छन्। अहिलेसम्म उक्त याचिकामा हस्ताक्षर गर्नेको संख्या ३० हजार नाघिसकेको छ। यदि यो मागमा १० लाखले हस्ताक्षर गर्यो भने उक्त याचिकालाई मञ्जुरी दिइनेछ। साथै सामाजिक सञ्जालहरूमा पनि ओबामालाई राष्ट्रपति बनाउनका लागि अभियान चलाइसकेका छन्। पेरिसका गल्लीहरूको ठाउँ–ठाउँ ओबामाको तस्वीर पनि टाँसेका छन्। धेरैले यो अभियानको चर्चा गरिरहेका छन्।

उक्त समूहले ओबामाले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दिनुपर्छ भन्दै आइरहेको छ। उनीसँग १५ मार्चसम्मका लागि समय छ। समूहका एक सदस्यले भने– ‘हामी ४ जना साथीहरू रक्सी पिउँदै राष्ट्रपति चुनावका विषयमा गफ गरिरहेका थियौं। यसैबीचमा यो अभियान शुरु गर्ने विचार आयो। हामीसँग राष्ट्रपति पदका लागि कोही पनि राम्रो उम्मेदवार छैनन्। सबै प्रचार अभियान स्क्यान्डल र भ्रष्ट छन्।

जुन पनि उम्मेदवार घृणा फैलाउने प्रयास गरिरहेका छन्। समाजमा विभाजन ल्याइरहेका छन्। यसबाट हामी रुष्ट भएका छौं। हामी मनै नपर्ने व्यक्तिलाई भोट दिनुपर्ने स्थितिलाई लिएर दुःखी भइरहेका छौं। त्यसैले हामी कसैलाई भोट दिँदैनौं, पछिल्लोपटक पनि हामीले त्यसै गर्यौं।

अर्को सदस्यले आफूहरूलाई यो एक प्रकारको पागलपन हो भन्ने थाहा भएको बताए। तर, सबैभन्दा राम्रो कुरा यो अभियानको उद्देश्य अत्यन्त गम्भीर भएको र आफूहरूले त्यहाँका नेताहरूबाट नागरिकहरू वाक्कदिक्क भइसकेको देखाउन चाहेको उनले थपे। ‘सबैभन्दा ठूलो उनी बाराक ओबामा हुन्। हामी एक जना विदेशीलाई आफ्नो राष्ट्रपति बनाएर विश्वलाई लोकतन्त्रको शक्ति देखाउन चाहन्छौं। हामी एक दिन अवश्य सफल हुनेछौं –उनले बताए।

वेबसाइटमा भनिएको छ– ‘ओबामा अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल पूरा गरिसकेका छन्। किन उनलाई फ्रान्सका राष्ट्रपतिमा नचुन्ने। ओबामाको पुनरागमन यो पदका लागि सबैभन्दा राम्रो हो। उनलाई राष्ट्रपति चुनेर हामी विश्वलाई सन्देश दिन्छौं।

प्रतिक्रिया दिनुहोस्