बस र टक जुध्दा दश जनाको ज्यान गयो



कुन्मिङ, (एजेन्सी)
दक्षिण–पश्चिमी चीनको युनान प्रान्तमा बिहीबार राति एउटा यात्रुवाहक बस र सिमेन्ट बोकेको टँकसँग जुध्दा कम्तीमा दश जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय समयानुसार बिहीबार राति साढे एघार बजे युनान प्रान्तको लाङ्काङ शहरको युन्जिआङ् ग्रामीण क्षेत्रमा पर्ने एक राजमार्गमा भएको सो दुर्घटनामा परी अन्य ३८ जना घाइते भएका स्थानीय सरकारी सञ्चार कार्यालयले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

गेङ्मा ग्रामीण इलाकाबाट प्रान्तीय राजधानी कुन्मिङतर्फ जाँदै गरेको उक्त बसमा दुई जना चालकसहित ४७ जना यात्रु सवार रहेको बताइएको छ। सो यात्रुवाहक बस सिमेन्ट बोकेको टकसँग ठोक्किएपछि फनक्क फन्का मार्दै सडकको माझैमा उत्तानो परकोे थियो। सिमेन्ट बोकेको टकचाहिँ चिप्लिएर सडकको किनाराबाट खसेको थियो।

दुर्घटनाग्रस्त बसमा सबार नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ। दुर्घटनामा परी मृत्यु भएका सबै व्यक्तिहरूको सनाखत हुन नसकेको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र सबै घाइतेको उपचारार्थ अस्पतालमा भर्ना गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्