संगीतले काठमाडौं तान्यो पवनलाई



रश्मी थापा

जब गीत संगीतको मोहले लोभ्याउँछ, त्यसमा जम्न चाहनेहरु सिधै काठमाडौंतिर ओर्लन्छन्। बन्दिपुर कल्चोकका पवन राना मगरलाई संगीतकै मोहले काठमाडौंतिर डोर्यायो।

गायक मगर २०६५ सालदेखि काठमाडौंमा बसेर नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय हुँदै आइरहेका छन्। आफ्नै एल्बम आघातबाट गीत गाउन शुरु गरेका उनले सांगीतिक क्षेत्रमा ८ वर्ष बिताउँदा पनि दोस्रो एल्बम त ल्याएको छैनन्, तर दुई दर्जनभन्दा बढीको संख्यामा गीत गाइसकेका उनी सांगीतिक क्षेत्रमा लागेदेखि नै पूर्ण रूपमा संगीतमै आबद्ध छन्। उनले गाएका केही गीत हिट पनि छन्।

‘सानैदेखि गीतसंगीतमा निकै रुचि राख्ने भएकाले सांगीतिक यात्रालाई अघि बढाउनका लागि नै म एसएलसीपछि काठमाडौं आएको थिएँ। काठमाडौं आएपछि रत्नराज्य लक्ष्मी क्याम्पसमा संगीत विषय लिएर भर्ना त भएँ, तर कारणवस मैले संगीतको शिक्षा कलेजबाट पूरा गर्न सकिनँ। मैले अर्को विषय लिएर कलेज नै चेन्ज गरेँ। लगत्तै बालाजुस्थित बेस्ट म्युजिकमा संगीत सिक्न थालेँ’ संगीतको शुरूआती दिनहरु सम्झिँदै उनले भने। चण्डीराज शर्मासँग संगीत सिकेर संगीतमै डिप्लोमा गरेका उनी गायक कमल सापकोटाबाट प्रभावित भएका रहेछन्। ‘कमल सापकोटाको गायकीबाट प्रभावित भएँ, तर प्रभावित हुँदैमा गायक नै हुनुपर्छ भन्ने त थिएन म मा आफ्नै भित्री इच्छा थियो गीत गाउने’ –उनले भने।

घरपरिवारले लाहुरे बनाउने भने पनि घरपरिवारको इच्छाभन्दा फरक बाटो रोजेका उनलाई शुरूमा त कुनै पनि सर्पोट मिलेनछ रे। तर जब उनको स्वर रेकर्ड भयो र स्वर सुनियो तब मात्र यो क्षेत्र राम्रो हो भन्ने सोच्न थाले रे। ‘सानैदेखि गाउँघरमा हुने विभिन्न क्लबले आयोजन गर्ने कार्यक्रममा भाग लिएर गीत गाउने गर्थेँ। धेरै कार्यक्रममा गीत गायर धेरैचोटि प्रथम पनि भएको छु। त्यस्ता कार्यक्रममा गाउने गीतहरु आफैंले कम्पोज गरेर गाउने गरिन्थ्यो।२०६७ सालमा तनहु तारामा भाग लिएर उत्कृष्ट ५ सम्म पुगेको थिएँ। तर विजेता हुन सकिनँ। मेरा लागि उत्कृष्ट ५ सम्म पुग्नु पनि ठूलो उपलब्धि हो भन्ने लाग्यो। त्यसपछि गीतसंगीतमै निरन्तर लागिरहेको छु’ –पवनले सुनाए।

सबै प्रकारका गीतहरुमा स्वर भरिसकेका पवनले गायिका सीता थापासँग गाएको आउन त कान्छी बोलको गीतबाट राम्रो प्रतिक्रिया पाए भने कौडा गीत मोहनी तिम्रो रुपैले, कालिप्रसाद रिजालको शब्दमा रहेको डान्सिङ पप एउटी केटी, आधुनिक गीत बाटो मोडे हुन्छ, हेम कुसारीको लय शब्दमा रहेको विछोडले हो आत्मा जलाउनेजस्ता गीतबाट लोकप्रियता कमाएका छन्। ‘म आपैmँलाई चाहिँ आफैँले गाएको गीतमध्ये बाटो मोडे हुन्छ सानु बोलको गीत मन पर्छ। मेरो एल्बमको गीतमध्येचाहिँ मूल बाटो रहेछ सानु बोलको गीत मन पर्छ।

जसमा आशिष अविरलको संगीत थियो। ‘गीतसंगीत नशाजस्तै रहेछ जसमा लागेपछि निस्कन मन नै नलाग्ने। त्यसैले म पनि यसमा लागेपछि निरन्तर नै लागिरहेको छु। एल्बम निकालेर मात्र गीतसंगीतम लागेको भन्ने हुँदैन मैले आफ्नो एउटा मात्र एल्बम निकालेको छु, तर विभिन्न हिसाबले यही क्षेत्रमै छु उनी भन्छन् ‘विभिन्न मेला महोत्सवमा प्रस्तुति दिने क्रममा नेपालको आधाजस्तो जिल्लाहरुमा पुगेको छु। कार्यक्रमकै लागि मलेसियासम्म पनि पुगेको छु। हाल ठमेलको गामबेंसी दोहोरी साँझमा लोकदोहोरी गीत गाउँदै आएका उनी यही क्षेत्रबाट चित्त बुझ्दो कमाइ गरिरहेको बताउँछन्।

संगीतको प्रशिक्षणसमेत दिँदै आएका उनको शुरूमा काठमाडौं आउँदाका दिनहरु निकै संघर्षपूर्ण रहेको सम्झना गर्छन्। ‘काठमाडौं मेरा लागि नौलो थियो। यहाँ चिनेका कोही पनि थिएनन्। जो साथीसँग बस्छु भनेर आएको थिएँ त्यहा बस्न नमिलेपछि काठमाडौं आएको १३ दिनपछि नै घर फर्किएँ’ उनले सुनाए ‘तर शुरेस लामिछाने नामक एकजना दाइले काठमाडौंमा बसेर गीतसंगीतमै लाग्ने मेरो इच्छा बुझेर फेरि बोलाउनुभयो। ६ महिना उहाँसँगै बसेँ। त्यति बेला एल्बम निकाले पनि नयाँ कलाकारहरुका लागि कति गाह्रो थियो भन्ने कुरा सबैलाई थाहै छ। त्यस्तो समयमा मैले निकालेको एल्बमले लागानी उठाउन सकेन। तर पनि म यही क्षेत्रमा लाग्छु भन्ने अठोट लिएर लागिरहेँ।

प्रतिक्रिया दिनुहोस्