बस र ट्रक एक आपसमा जुध्दा १० को मृत्यु ३८ घाइते



चीन, २० फागुन । दक्षिण–पश्चिमी चीनको युनान प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक बस र सिमेन्ट बोकेको ट्रक एक आपसमा जुधी दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समयानुसार बिहीबार राति साँढे एघार बजे युनान प्रान्तको लाङ्काङ्ग सहरको युन्जिआङ् ग्रामीण इलाकामा पर्ने एक राजमार्गमा भएको सो घटनामा परी अन्य ३८ जना पनि घाइते भएका स्थानीय सरकारी सन्चार कार्यालयले आज एक प्रेस विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

गेङ्मा ग्रामीण इलाकाबाट प्रान्तीय राजधानी कुन्मिङ्गतर्फ जाँदै गरेको उक्त बसमा दुई जना चालक सहित ४७ जना यात्रु सवार रहेका थिए । सो यात्रुबाहक बस सिमेन्ट बोकेको ट्रकसँग ठोक्किएपछि फनक्क फन्का मार्दै सडकको माझैमा उत्तानो परेर पल्टिन गई भयानक दुर्घटना भएको थियो । सिमेन्ट बोकेको ट्रकचाहिँ चिप्लिएर सडकको किनारा मुनि पल्टिई दुर्घटनाग्रस्त हुन पुग्यो ।

दुर्घटनाग्रस्त बसमा सबार नौ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा परी मृत्यु भएका सबै व्यक्तिहरुको परिचय भने खुल्न नसकेको बताइएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भईरहेको र सबै घाइतेहरुको उपचारार्थ अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्