अझै झारफुकको सहारा



प्रशान्त वली

घटना–१
बैतडी जिल्ला थलाकाँडा–१ बजाँडामा केही दिनअघि सुत्ने बेलामा जन्डिसको औषधि घरायशी जडीबुटी (आकाशबेली) को रस खाँदा २३ वर्षका दीपेन्द्र रोकायाको ज्यान गयो। आकाशबेली जन्डिसको औषधि हुने भन्ने विश्वासका भरमा दीपेन्द्र रोकाया र लक्ष्मण रोकायाले घरनजिकै फल्ने आकाशबेलीको रस खाएको जिल्ला प्रहरी कार्यालय बैतडीले नेपाल समाचारपत्रलाई जानकारी दियो। किन दुवै जनाले पहेंलो लहरा भएको आकाशबेली खाएको भन्ने जिज्ञाशामा बैतडी प्रहरी कार्यालयका डीएसपी हेरम्ब शर्मा भन्छन्– ‘आकाशबेली खाएपछि जन्डिस सञ्चो हुन्छ भन्ने पुरानो चलन भएर हुन सक्छ। दीपेन्द्रको खाने बित्तिकै ज्यान गएको हो। बेहोस भएका २२ वर्षीय लक्ष्मणको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

घटना–२
दाङ लक्ष्मीपुर गाविस निवासी २१ वर्षीय भीमसेन बस्नेतको पेट असाध्यै दुख्न थाल्यो। र, उनले धामी–झाँक्रीको सल्लाहमा पेटको चारैतिर बेरिने गरी बुटी बाँधे। केही समय सञ्चो भएजस्तो लागे पनि उनलाई निको भएन। अन्ततः घरनजिकै रहेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा गएर औषधि गर्न बाध्य भए। त्यसपछि उनलाई विस्तारै निको हुँदै गयो।

अझै हाम्रो समाजमा केही रोगको लक्षण देखा परे धामी–झाँक्रीको विश्वास पर्ने चलन कायमै छ। चिउरी लगाएपछि ढाडिएको पेट सञ्चो हुने, बुटी बानेपछि पेट नदुख्ने, जनज्योतिको जरा खाएपछि दिमाग तीखो हुने, सर्पले टोके धामी–झाँक्रीलाई देखाउनुपर्ने परम्परागत मान्यता संस्कारकै रूपमा समाजमा जमेको छ। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा झारफुक प्रचलनकै रूपमा रहेको छ।

विशेषतः दुर्गम क्षेत्रमा अन्धविश्वासका रूपमा झारफुक गर्ने चलन मान्यताकै रूपमा विकास भएको पाइन्छ। निमोनियाका बिरामीलाई नाग लागेको, मानसिक रोगीलाई भूत–प्रेत लागेको, प्रेसर बढेर बेहोस हुँदा पिचासले ढालेको भन्दै पिचास भगाउन ढ्याङ्ग्रो ठोक्ने चलन पनि छ। उता, डाक्टरहरूले भने जनचेतनाको कमीका कारण अन्धविश्वास कायम रहेको भन्दै कुनै पनि रोग झारफुकबाट सञ्चो नहुने बताएका छन्। नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुदाम्सु केसीले भन्नुभयो– ‘पहेंलो खाएर पहेंलो रोग हट्ने भन्ने होइन। यो गलत कुरा हो। जन्डिसको उपचार हुँदैन। जन्डिस गराउने रोगको उपचार हुन्छ। त्यसैले अब अन्धविश्वासलाई जरैदेखि हटाउनुपर्छ।’

उता, सरकारले ज्ञानबिनाका रोगहरूमा हात नहाल्न र झारफुकको नाममा बिरामीलाई अनेकन क्रियाकलाप नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले धामी–झाँक्री गर्नेहरूमाथि कडा निगरानी राखेको छ। किन रुढिवादी प्रथाको अन्त्यतर्फ स्वास्थ्य मन्त्रालय जागरुक नभएको भनि जिज्ञाशा राख्दा मन्त्रालयका प्रवक्ता भोगेन्द्रप्रसाद डोटेल भन्नुहुन्छ– ‘यो कुरामा स्वयं व्यक्ति जागरुक हुनुपर्छ। र, अन्धविश्वासलाई हटाउन सरकारले समय–समयमा जनचेतनाका कार्यक्रमसमेत गरिरहेको छ। र, स्थानीयस्तरमै सरोकारवालाहरूले ग्रामीण तहमा पुगेर जनजागरणका कार्यक्रम फैलाउनुपर्छ। सरकार एक्लैको प्रयासले केही हुँदैन।’

प्रतिक्रिया दिनुहोस्