औसत आयुमा दक्षिण कोरिया अग्र स्थानमा रहने



सोल, (एजेन्सी)
दक्षिण कोरियाली महिला विश्वमै औसत आयु ९० वर्षभन्दा बढी हुनेमा पहिलो स्थानमा पुग्ने भएको हालै गरिएको एक अध्ययनले जनाएको छ। लन्डन तथा संयुक्त राष्ट्र संघको विश्व स्वास्थ संगठनले विश्वका ३५ वटा औद्योगिक राष्ट्रमा औसत आयु वृद्धिबारे विश्लेषण गरेका थिए।

यस विश्लेषणले सन् २०३० मा सम्पूर्ण मानिस तुलनात्मकरूपमा लामो समयसम्म बाँच्ने तथा अधिकांश राष्ट्रमा महिला तथा पुरुषबीचको औसत आयु नजिकिने पनि जनाएको छ। प्रध्यापक माजिद एज्जातीले बीबीसी न्युज वेबसाइटलाई बताएका छन्– ‘यस मामिला दक्षिण कोरिया सबैभन्दा अग्र स्थानमा रहनेछ।

त्यहाँका जनताले शिक्षा तथा पौष्टिक आहार जस्ता क्षेत्रमा राम्रो उपलब्धि हासिल गरेकाले औसत आयुमा पनि सकारात्मक प्रगति गर्ने अनुमान गरिएको छ। अहिलेसम्म दक्षिण कोरियाका जनता मानसिक तनाव नियन्त्रण मोटोपनाको सबैभन्दा कम दरका लागि विश्वमै उत्कृष्ट स्थानमा रहेका छन्।’

उक्त अध्ययनको प्रतिवेदनमा कुनै समय विश्वमै सबैभन्दा लामो औसत आयु भएको राष्ट्रको रूपमा चिनिएको जापान भने यससम्बन्धी विश्व सूचीमा तल झर्ने अनुमान पनि गरिएको छ।

हाल जापानी महिला विश्वमै सबैभन्दा लामो औसत आयु हुनेमा गनिन्छन्। तर, पछिल्लो अध्ययनले अब जापान दक्षिण कोरिया र फ्रान्सको पछाडि पर्ने विश्वास गरिएको छ। त्यसै गरी यस अध्ययनमा परेका राष्ट्रहरूमध्ये जापानी पुरुषको औसत आयु हालको चौथो स्थानबाट एघारौं स्थानमा पुग्ने पनि बताइएको छ। यसैबीच संयुक्त राज्य अमेरिका पनि सन् २०३० मा औसत आयुमा पछाडि पर्ने धनी राष्ट्रहरूमध्ये एक हुने बताइएको छ।
उक्त अध्ययनको प्रतिवेदनमा अमेरिकी पुरुष र महिलाको औसत आयु क्रमशः असी र त्रियासी पुग्ने जनाइएको छ। मेक्सिको र क्रोसियाका महिला तथा पुरुषको औसत आयु पनि करिब अमेरिकाकै हाराहारीमा पुग्ने बताइएको छ। दक्षिण कोरिया विश्वमा नै स्वास्थ जीवन बीमाको व्यवस्था नभएको एक मात्र राष्ट्र हो।
साथै मानिसको उचाइ बढ्न रोकिएको पहिलो राष्ट्रको रूपमा अमेरिका देखिने भएको छ। सम्भवतः जीवनको प्रारम्भकालदेखि नै पौष्टिक आहारामा देखिएको केही कमीले यस्तो भएको हुनुपर्ने अनुमान गरिएको छ। औसत आयुमा अमेरिकालाई चिलीले समेत उछिन्ने बताइएको छ।

चिलीको पुरुष र महिलाको औसत आयु क्रमशः ८१ र ८७ पुग्ने अनुमान गरिएको छ। यसै गरी सन् २०१५ र २०३० बीच बेलायतमा पुरुष र महिलाको औसत आयु क्रमशः ७९ बाट ८२ र ८३ बाट ८५ पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्