ट्रम्प आदेशको प्रभाव महान् बक्सर मोहमद अलीका छोरा हिरासतमा



न्युयोर्क, (एजेन्सी)
महान् बक्सर मोहम्मद अलीका छोरा मुहम्मद अली जुनियरलाई फ्लोरिडा विमानस्थलको भन्सार अधिकारीले केही घन्टाका लागि हिरासतमा लिएको जनाइएको छ। मुस्लिमविरोधी नीतिको शिकार मोहम्मद अलीका छोरासमेत शिकार हुनुलाई अमेरिकामा देखिएको ठूलो विभाजनका रूपमा लिएको छ। उनीसँग सोधपुछ गरिएको र उनलाई अधिकारहरूले उनलाई उनको नाम कहाँबाट पाएको हो भन्ने प्रश्न पटक–पटक सोधेको अलीका परिवारले बताएको छ। ट्रम्प प्रशासनको नयाँ निर्देशनपछि अमेरिकामा आउनेहरूमाथि विमानस्थलमा कडा निगरानी गर्न थालेको छ।

उक्त घटना फेब्रुअरी ७ को भएको एनएनआई समाचार एजेन्सीले जनाएको छ। ४० वर्षीय मोहम्मद अली जुनियर र उनकी आमा खलिला कामाचो अली जमैकामा एउटा कार्यक्रममा सहभागी भएर फोर्ट लडरडेल हलिउड इन्टरनेसन विमानस्थलमा पुगेका थिए। भन्सार विभागका अधिकारीले उनको नामका कारण उनलाई रोकेर सोधपुछ गरेका हुन्।

केही समयपछि खलिला कामाचोलाई अधिकारीले छोडेका थिए। खलिलाले मोहम्मद अलीसँगको आफ्नो तस्वीर पनि देखाएका थिए। तर, छोरालाई भने २ घन्टासम्म रोकेर राखे, किनभने उसँग अलीसँगको तस्वीर थिएन। जुनियर अलीले आफू मुस्लिम भएको बताएपछि अधिकारीले उनको धर्म र जन्मस्थानका बारेमा सोध–खोज गरेका थिए। अली जुनियरका साथी र वकिल क्रिस म्याकिनीले अलीको परिवारले यो मामिलालाई संघीय अदालतमा लग्ने तयारी गरिरहेको जानकारी दिएका छन्। अहिले जुनियर अलीलाई जस्तै कति जनालाई त्यस्तो व्यवहार गरिएको छ पत्ता लगाउने काम भइरहेको उनीहरूले बताए।

प्रतिक्रिया दिनुहोस्