जर्मनीमा शरणार्थीमाथि हजारौं आक्रमण



बर्लिन, (एजेन्सी)
जर्मनीमा प्रकाशित एक नयाँ प्रतिवेदनअनुसार शरणार्थी तथा तिनीहरू बसोबास गरिरहेका शिविरमा सन् २०१६ मा ३ हजार ५ सयभन्दा बढी आक्रमणका घटना भएको स्थानीय विश्वसनीय समाचारपत्र डचे बेलेले सोमबार जनाएको छ।
जर्मनीको गृह मन्त्रालयद्वारा प्रकाशित एक प्रारम्भिक प्रतिवेदनअनुसार २ हजार ५ सय ४५ आप्रवासीमाथि व्यक्तिगतरूपमा आक्रमण भएको थियो। त्यसै गरी आप्रवासी तथा शरणार्थी बस्ने शिविरमा ९ सय ८८ वटा आक्रमणका घटना र शरणार्थी व्यवस्थापन गर्ने संघ–संस्था तथा स्वयंसेवकमाथि २ सय १७ वटा आक्रमणका भएको बताइएको छ।

यस्ता आक्रमणमा परी ४३ जना बालबालिकासहित ५ सय ६० व्यक्ति घाइते भएको पनि सो प्रतिवेदनमा जनाइएको छ। जर्मनीमा शरणार्थी सुरक्षा फितलो भएको सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमै बारम्बार बहस र वादविवाद सिर्जना हुने गरेका छन्। यस्ता आक्रमणका घटना बारम्बार दोहोरिइरहँदा शरणार्थी सुरक्षाको मामिलामा देशकै सुरक्षा क्षमताबारे प्रश्नचिह्न खडा भएको छ। आफ्नो मुलुकमा शरणार्थी तथा आप्रवासीको संख्या आकासिँदै गरेकामा त्यसलाई कटौती गर्न जर्मनी प्रयासरत रहेको छ। प्रवेश, घुमफिर र काम गर्नसमेत दिइने विगतका उदार नीति र नियम हाल जर्मनीलाई घाँडो भएको छ।

शरणार्थी तथा आप्रवासीको भेषमा सजिलै प्रवेश गरेका आतंकवादीहरू एकत्रित भई राष्ट्रकै सुरक्षा व्यवस्थालाई चुनौती दिने हुन् कि भन्ने त्रास पनि उत्तिकै व्याप्त रहेको छ।

यिनै कारणले गर्दा आगामी सेप्टेम्बर महिनामा सम्पन्न हुन गइरहेको संघीय आम निर्वाचनमा आफ्नो पार्टीले जनविश्वास गुमाउनु नपरोस् भन्ने मनसायले जर्मनीमा शरणार्थी तथा आप्रवासीको मामिलामा सत्तारुढ दलले उच्च संवेदनशीलतापूर्वक कदम अघि बढाइरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्