विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन विवादमा



नयाँ दिल्ली, (एजेन्सी)
विश्वकै सबैभन्दा सस्तो स्मार्ट फोन बिक्री गरिरहेको दाबी गर्ने भारतीय कम्पनी रिंगिंग बेल्सका निर्देशक मोहित गोयललाई धोकाघडीको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ। माबाइल फोन वितरकमध्ये एउटाले आफूले पैसा भुक्तानी गरिसक्दा पनि सामान नपाएको उजुरी गरेपछि प्रहरीले गोयललाई पक्राउ गरेको हो।

सन् २०१६ को फेब्रुअरीमा फ्रिडम २५१ नामक सो स्मार्ट फोनको बिक्रीपूर्वको मूल्य २ सय ५१ भारु अर्थात ३ डलर ७० सेन्ट तय गरिएको थियो। अधिकांश ग्राहकहरूले सो फोन प्राप्त गरे पनि रिंगिंग बेल्सलाई सम्पूर्ण अर्डर पूरा नगरेको आरोप लगाइएको थियो।

आयाम इन्टरप्राइजेज नामक वितरण कम्पनीले गोयलले सामान उपलब्ध गराइदिने आश्वासन दिएपछि उनलाई ३० लाख भारु बुझाएको तर १४ लाख बराबरको फोन मात्र दिएको र बदलामा आफ्ना कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिंदै थप पैसा माग्ने गरेको प्रहरीसमक्ष बताएको छ।

प्रहरी प्रवक्ता राहुल श्रीवास्तवले बीबीसीसमक्ष गोयललाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई शुक्रबार अदालतमा पेश गरिने बताएका छन्। सो फोन बजारमा ल्याउने क्रममा गोयलले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको मेक इन इन्डिया प्रोग्रामअनुसार स्थानीय स्तरमा त्यसको उत्पादन गरिएको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्