मर्केलको उम्मेदवारी औपचारिक रूपमा चयन



बर्लिन, (एजेन्सी)
जर्मन चान्सलर एन्जेला मर्केलको दल क्रिस्चियन डेमोक्रेट्सले आफ्नो पार्टीको उच्च उम्मेदवारका रूपमा मर्केललाई नै औपचारिक रूपमा छानेको छ।

सन् २०१७ को सेप्टेम्बरमा हुने संसदीय निर्वाचनमा उनलाई नै औपचारिक उम्मेदवारी दिनका लागि शनिबार ९५ प्रतिशत प्रतिनिधिको समर्थन मिलेको छ।
जर्मनीको उत्तरपूर्वी मेकलेनवर्ग–पश्चिमी पोमेरानिया राज्यमा भएको अधिवेशनले उनलाई अत्यधिक बहुमतका साथ उम्मेदवारी दर्ता गर्न जनादेश दिएको हो। मर्केलले सन् १९९० देखि स्ट्रालसन्डबाट निर्वाचनमा भाग लिँदै आएकी छिन्।

जर्मन मत सर्भेक्षणमा मर्केलले अनपेक्षित रूपमा त्यहाँको मध्यमार्गी सोसल डेमोक्रेट्सका उम्मेदवार मार्टिन स्कुल्जसँग कडा प्रतिस्पर्धा हुने जनाएको छ। स्कुल्ज युरोपियन पार्लियामेन्टका पूर्व अध्यक्ष हुन्। हिजो संसद्मा सम्बोधन गर्ने क्रममा मर्केलले स्कुल्जका बारेमा केही पनि बोलेकी छैनन्। तर मर्केलले उनलेका पूर्ववर्ती गेरहार्ड स्क्रोइडरले अघि सारेका आर्थिक सुधारका विषयलाई भने प्रशंसा गरेकी थिइन्। स्क्रोइडरद्वारा अघि सारिएका केही आर्थिक पक्षबारे स्कुल्जले आफू नेतृत्वमा पुगेमा संशोधन गर्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्