सुलोचनालाई उपाधि



अमरकला केन्द्रद्वारा आयोजित लेट्स डान्सको पहिलो सिजनको उपाधि सुलोचना राईले जितेकी छिन्। हालै आयोजित प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सहभागी १५ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

विजेता राईले उपाधिसँगै नगद पुरस्कारस्वरूप ३५ हजार रुपियाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त तथा डान्स कोर्स र व्यक्तित्व विकास कोर्ससमेत प्राप्त गरेकी छिन्। उनीसँगै जाङ्मु शेर्पा दोस्रो, सुस्मिता राजभण्डारी तेस्रो, इरा महर्जन चौथो र सलिना मगर पाँचौ भएका छन्। यी श्रेणीका विजेताहरुलाई क्रमशः १५ र १० हजार तथा चौथो र पाँचौ हुने विजेतालाई जनही ५ हजार रुपियाँ प्रदान गरिएको छ। प्रतियोगिताका निर्णायकहरुमा राज श्रेष्ठ, राज रानामगर र डान्स नेपाल डान्सकी विजेता तितिक्षा मगर रहेका थिए।

कार्यक्रममा अभिनेत्री वसुन्धरा भुषालले पहिलो हुनु मात्रै ठूलो कुरा नभएको र सहभागिता जनाएर आफ्नो प्रस्तुती देखाउनु नै ठू्लो कुरा भएको बताइन्। उनले अतिरिक्त क्रियाकलापमा विगत काम गर्दै आएका सञ्चारकर्मी दीपक लामिछानेलाई सम्मान पनि गरेकी थिइन्। यसै गरी केन्द्रका निर्देशक कृष्ण रानामगरले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

प्रतियोगिताको पहिलो चरणमा दुई सयभन्दा बढी प्रतियोगीले सहभागिता जनाएका थिए। यस प्रतियोगिताको दोस्रो सिजनको प्रतियोगिता २०७४ वैशाखबाट फेरि शुरू हुने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्