कुसुमको कला



कलाको माध्यमबाट अगाडि बढ्दै आएकी छिन् नवनायिका कुसुम स्याङ्तान। थोरै अबोधपन, धेरै उत्साह र उमंग अनि रंगीन सपनाहरू सँगालेर स्वप्निल संसारमा जीवनरेखा कोर्न उद्दत कुसुम यथार्थ सपना र भोगाइलाई एकै ठाउँमा समाहित गरी जीवन जिउन मन पराउँछिन् रे ।

फरासिलो स्वभावकी कुसुम २१औं वसन्तसँग लुकामारी खेल्दै गरे पनि परिपक्वता र सक्षमताले अगाडि आउने कोसिसमा छिन् ।

नेपाली रजतपटको कलात्मक संसारमा आफ्नो छुट्टै पहिचान बनाउन उन्मुख कुसुम आफू सधैं पेसाप्रति इमानदार रहने बताउँछिन्। बाल्यावस्थादेखि नै कलाकर्मबाट प्रभावित भई विभिन्न टेलिसिरियल र फिल्ममा रमाइरहेकी उनी फेसन शो, मिस टिनलगायत विभिन्न रंगमञ्चीय कार्यक्रमहरूमा अभिनय, मोडलिङ र नृत्य प्रस्तुत गर्दै आएकी छिन् ।

उनले विद्युतीय पर्दाहरूमा अभिनय गर्ने मोहले पछ्याएपछि राजधानी प्रवेश गरेको बताइन्। राजधानी प्रवेशसँगै विभिन्न विधाको प्रशिक्षण हासिल गरेकी कुसुमले आफ्नो अभिनय क्षमतामा प्रखरता ल्याउन विभिन्न कला प्रशिक्षण केन्द्रबाट प्रशिक्षणसमेत हासिल गरेकी छिन् ।

जीवन थापाको टेलिशृंखला ढुक्कबाट अभिनय यात्रा आरम्भ गरेकी कुसुम विभिन्न म्युजिक भिडियो, रंगमञ्चीय कार्यक्रम, विज्ञापन र फिल्महरूमा अभिनय क्षमता प्रस्तुत गर्दै दर्शकको मन जित्ने कोसिस गरिरहेकी छिन्। छोटो समयमा नै पिल्मकर्मीको मन जित्न सफल कुसुम नायिकामा हुनुपर्ने गुणहरू भएकैले फिल्महरूमा थुप्रै अफर आइरहेको दाबी गर्छिन् ।

अभिनयमा निखार ल्याउनमा जीवन थापाको देनलाई कहिल्यै बिर्सन नसक्ने बताउने उनी संघर्षलाई नै जीवन ठान्छिन्। उनी कलाकर्ममा पनि विभिन्न आरोह अवरोह पार गरी यो अवस्थासम्म आइपुगेको बताउँछिन्। ‘मलाई यही क्षेत्रमा केही गरेर देखाउने मन छ। त्यसैले जतिसक्दो मेहनत गरिरहेकी छुु’, कुसुम भन्छिन्– ‘संघर्ष गरिरहेकी छु ।

संघर्षको यो यात्रा कहिल्यै टुंगिने छैन। छिट्टै चर्चित हुन यहाँ चाकडी, चाप्लुसी र अर्थ लगानी गर्ने गरेको पनि सुनेको छु। तर म त्यसरी होइन, काम र क्षमताले नै अगाडि आउने कोसिसमा छु। कलाकारले अरू कुराले होइन, प्रतिभाले नै जित्नुपर्छ। ’ उनी ग्ल्यामर लुक्स मन पराउँछिन्। भन्छिन्– ‘ग्ल्यामर प्रत्येक चिजमा हुन्छ। त्यसलाई कसरी लिने र प्रयोग गर्ने हो, त्यसमा भर पर्छ। हो कला ग्ल्यामरस कर्म हो, तथापि म अनावश्यक अंग प्रदर्शनको पक्षमा छैन। सामान्यरूपले पनि अभिनयमा अंग प्रदर्शन गर्न सकिन्छ। घर परिवार र समाजलाई आपत्ति नहुने अंग प्रदर्शन गर्नुपर्छ, उत्तेजनात्मक होइन ।’

कलाकारिता पेसा मात्र नभई शिक्षा, चेतनालगायत चेतनामूलक विषयहरू सम्पे्रषण गर्ने एक सशक्त माध्यमका रूपमा लिने उनले बताइन ।

प्रतिक्रिया दिनुहोस्