संक्रमक रोगबाट अठार हजारको मृत्यु



बेइजिङ, (एजेन्सी)
चीनमा सन् २०१६ मा विभिन्न संक्रमक रोगका कारण १८ हजार २ सय ३७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक भएको चिनियाँ सरकारी तथ्यांकमा उल्लेख गरिएको छ।

सन् २०१६ मा करिब ६९ लाख चिनियाँ विभिन्न संक्रमक रोगबाट बिरामी परेकामा उक्त संख्यामा बिरामीको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको हो।

तर गत वर्ष एक जनामा प्लेग र अन्य सताइस जनामा हैजाको उच्च जोखिमयुक्त क वर्गको संक्रमण भए पनि तिनीहरू सबै उपचारपछि सकुशल घर फर्किएको आयोगले जनाएको छ।

सन् २०१६ मा देखिएका करिब २९ लाख व्यक्तिमा ख वर्गको संक्रमण भेटिएको बताइएको छ। जसका कारणले मात्र १७ हजार ९ सय ६८ जनाको मृत्यु भएको चिनिया सरकारी सूत्रले जनाएको छ।

एचआईभी तथा एड्स, क्षयरोग, रेबिज, हेपाटाइटिस र बर्ड फ्लुका कारणले ९८ दशमलव ८ प्रतिशतको मृत्यु भएको थियो।

त्यस्तै ३९ लाख व्यक्तिमा ग वर्गको रोगको संक्रमण देखिएकोमा २ सय ६९ जनाको यसबाट मृत्यु भएको पनि आयोगले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्