आँट छ ?



अहिले बजारमा राजदूतमा सिफारिस पर्नेले दलका नेताहरूलाई बिटो बुझाएको कुरा चर्चामा आइरहेको छ। मनपरी ढंगले राजदूत सिफारिसमा परेका कारण यस्तो अवस्था आएको भन्ने धरहरालाई लागेको छ। यो अवस्थाले गर्दा राजदूतमा सिफारिस भएका राम्रा मान्छेका रूपमा लिइएका प्राडा विश्वम्भर प्याकुरेलसम्मलाई बेइज्जत हुने अवस्था उत्पन्न भएको छ। १४ जनामध्ये उहाँ एक जना मात्रै अथवा भन्न लायक भएको टिप्पणी धरहरा वरपर धेरैको रहेको छ। तर, अलि राम्रो मान्छेलाई कामै नहुने श्रीलंकामा थन्क्याउन लागेको अवस्था देखिएको छ।

यी त भए राजदूतमा सिफारिस भएकाहरूको कुरा। कतिपयको त बैना रकम नै पच हुने अवस्था पनि आएको कुरा सुनियो। कसरी रे भने राजदूत हुनका लागि पैसा बुझाइसकेको तर पछि नबनाइएको रे। रमाइलो छैन त पाठकवृन्द? राजदूतमा सिफारिस पर्नेको यसै अनुहार बिग्रियो उसै बिग्रियो। यस्तो अवस्थामा अन्य कर्मचारीको अगाडि बसेर राजदूत पद चलाउन पनि सिफारिसमा पर्नेलाई कम्ती मुस्किल पर्ने देखिँदैन।

त्यसैले साँच्चै नायक बन्ने हो भने राजदूतमा सिफारिसमा पर्नेहरूले एउटा काम गर्नुपर्ने धरहरा सुझाव दिन चाहन्छ। कुरा के भने सिफारिसमा पर्नका लागि उहाँहरूले ककसलाई कति रकम बुझाउनुभएको हो त्यसको खाका संयुक्त पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिदिने हो भने हिरो बन्ने चान्स छ है। यस्तो भयो भने नेताहरूले आगामी दिनमा पैसा लिने बेलामा १० चोटी सोच्नेछन्। राजदूत नियुक्तिमा आगामी दिनमा सुधार आउने निश्चित छ। आँट गर्ने हो सिफारिसवाला मित्रहरू? सबैले आरोप लगाउने अवस्था त्यसपछि टुंगिन्छ। बरु गलत संस्कार बदल्न पुर्याएको योगदानलाई सम्झेर सबैले वाहवाही गर्ने छन्। धरहराले कुनै शुल्क नलिई दिएको सल्लाह हो है यो।

प्रतिक्रिया दिनुहोस्