शुरू भयो दोहोरी



बलियो लोकसंस्कृति दरिलो घर, हामी सबै होऔं आत्मनिर्भर भन्ने मूल नाराका साथ राजधानीमा बिहीबार दोहोरी प्रतियोगिता आरम्भ गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अधिराज्यव्यापी तेस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत (रनिङ शिल्ड) प्रतियोगिता शुरू गरेको हो।

प्रतियोगिता प्राध्यापक गोविन्द पोखरेलद्वारा शुभारम्भ गरिएको कार्यक्रममा टेलिभिजनमार्पmत् गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएबापत इमेज ग्रुप अफ मिडियाका अध्यक्ष आरके मानन्धरलई सम्मान गरिएको थियो। प्रतियोगितामा देशभरका दोहोरी साँझ तथा खुला दोहोरी कलाकारले स्पर्धा गर्ने प्रतिष्ठानका अध्यक्ष तथा लोकगायक बद्री पंगेनीले जानकारी गराए। प्रतियोगितामा विजयीलाई प्रथम पुरस्कारबापत १ लाख ५० हजार रुपियाँ प्रदान गरिनेछ। त्यसै गरी द्वितीय पुरस्कारबापत ७५ हजार र तृतीय पुरस्कारस्वरूप ५० हजार प्रदान गर्ने घोषणा गरिएको छ। त्यसै गरी सान्त्वना पुरस्कार जित्ने दोहोरी समूहलाई २५ हजार रुपियाँको व्यवस्था गरिएको छ भने उत्कृष्ट गायकगायिकालाई जनही १५ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ।

‘दोहोरी साँझ प्रतियोगिता भए पनि यो राष्ट्रियस्तरको प्रतियोगिता भएकाले दोहोरी साँझमा गाउने कलाकार मात्र नभई देशभरिका लोकदोहोरी कलाकारले भाग लिन पाउनेछन्’ –पंगेनीले भने। राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपालको आफ्नै भवन र लोक संग्रहालय स्थापनाका लागि यो कार्यक्रमको आयोजना गरेको उनले बताए।

कार्यक्रमको शुभारम्भ समारोहमा विभिन्न गायकगायिकाले लोक तथा दोहोरी गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा पूर्णकला बिसीले मायालुको शहरमा घर छ, मेक्सम खातीले रसिलो छ बोली, सुरेन्द्र पौडेलले जाम झोला बोकेर बोलको गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा पशुपति शर्मा, जानकी तारामी मगर, राधिका हमाल, पूर्णकला बीसी, मुना थापा मगर, टीका पुनलगायतको सहभागिता रहेको थियो।

२०५७ सालमा लोक संस्कृतिको जगेर्ना र लोकदोहोरी कलाकारको हकहितका लागि स्थापित प्रतिष्ठानमा हाल ४ हजारभन्दा बढी आजीवन सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्