दृष्टिविहीनका लागि उज्यालो उत्सव



लायन्स क्लब अफ काठमाडौं टेम्पलले दृष्टिविहीनका लागि उज्यालो उत्सव २०७३ नामक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। टेम्पलले अँध्यारोबाट उज्यालोतिर भन्दै दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माणार्थ सांगीतिक कार्यक्रम उज्यालो उत्सव २०७३ आयोजना गर्न लागेको हो।

आगामी फागुन २१ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा गीतसंगीत, नृत्य र हास्यव्यंग्य प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसम गुरुङ, जीवनपरियार, देविका वन्दना, सुनिता गुरुङले आफ्ना हिट नम्बर प्रस्तुत गरी दर्शकलाई सांगीतिक आनन्द दिनेछन्। त्यसै गरी सांगीतिक समूह सुर सुधाले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछ। उता अभिनेत्री गौरी मल्ल र रिस्ता बस्नेतका साथमा मेनका गुरुङ, दीपेन्द्र तिमल्सिनालगायतका कलाकारले नृत्य प्रस्तुत गर्नेछन् भने हास्य कवि शैलेन्द्र सिंखडाले व्यंग्यात्मक कविता प्रस्तुत गरेर छेड हान्दै हँसाउनेछन्। त्यसै गरी हास्य अभिनेत जितु नेपालकोकमेडी र कार्यक्रम सञ्चालनसँगै अगाडि बढ्ने कार्यक्रममा ज्योति काफ्ले (नक्कली बाबुराम) र विपना बस्नेत (नक्कली हिसिला यामी) ले प्रहसन प्रस्तुत गर्नेछन्।

क्लबका अध्यक्ष अरुणकुमार श्रेष्ठले दृष्टिविहीन बालबालिकाको सहज जीवनयापनका लागि सांगीतिक कार्यक्रम गरेर भवन निर्माण गरिने जानकारी गराए। २८ वर्षदेखि जापानमा बसेर समाज सेवा गर्दै आएका लायन्स क्लब अफ काठमाडौं टेम्पलका अध्यक्ष श्रेष्ठलेआफैं साँगामा ३ रोपनी जग्गा उपलब्ध गराई आफ्नो संस्थामार्फत् सांगीतिक कार्यक्रम आयोजना गरेर त्यसमार्फत् हुने आयआर्जनबाट उनीहरूका लागि भवन निर्माण गर्न लागेका हुन्। ‘मेरो बुबाको आँखामा समस्या भएपछि त्यसको उपचार गराउन काठमाडौं आएको बेला दृष्टिविहीनको समस्या र कठिनाइलाई नजिकबाट बुझ्ने मौकापाएँ। लायन्स क्लब अफ काठमाडौं टेम्पलसमेतको सहभागितामा लमजुङको दुराडाँडामा गरिएको आँखा शिविरबाट यसबारे अझ गहन अध्ययन गर्ने अवसर मिल्यो।

यी कुराबाट यो कार्यक्रम गर्ने प्रेरित भयौं, अक्ष्यक्ष श्रेष्ठको भनाइ छ– ‘दृष्टिसम्बन्धी कतिपय समस्या उपचारबाट पनि ठीक हुन्छ। तर कतिपय अवस्थामा जति उपचार गरे पनि दृष्टि फर्काउन सम्भव हुँदैन भन्ने कुरा बुझेपछि हामीले दृष्टिविहीनको भविष्यका लागि केही गर्नुपर्छ भन्ने महसुस गरेर दृष्टिविहीनका लागि आवासीय भवन निर्माणका खातिर सहयोग जुटाउन यो कार्यक्रम गर्न लागेको हौं।

त्यसै गरी टेम्पलका सचिव तथा सो कार्यक्रमका संयोजक सुदर्शन महर्जनले मनोरञ्जनात्मक कार्यक्रम गरेर अर्थ संकलन गरी दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माण गर्न लागेको बताए। सहयोग मात्र लिनुभन्दा पनि मनोरञ्जनसमेत दिलाउन सकिने र त्यो कार्यक्रमार्फत् हुने आम्दानीबाट दृष्टिविहीनको आवासीय भवन निर्माण गर्न सहयोग पुग्ने भएकाले सो बृहत् कार्यक्रम गर्न लागिएको उनले प्रस्ट्याए। ‘त्यतिकै सहयोग लिनुभन्दा पनि मनोरञ्जन दिलाएर सहयोग गरौं भनेर यो कार्यक्रम गर्न लागिएको हो, महर्जनले भने– ‘यस प्रकारको सहयोगको कार्यक्रम गर्दा खर्च कटाएर ४० प्रतिशत संस्थालाई र बाँकी ६० प्रतिशत सम्बन्धित क्षेत्रको सहयोगका लागि खर्च गर्ने प्रचलन भए पनि हामी खर्च कटाएर बाँकी हुने सम्पूर्ण रकम भवन निर्माणमै लगाउँदै छौं।

कार्यक्रमका सहभागी दर्शकले निःशुल्करूपमा सुर सुधाको सांगीतिक धुनहरूले सजिएको नवीनतम एल्बम प्राप्त गर्ने पनि आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्