रुसद्वारा मानवरहित मालवाहक अन्तरिक्ष यान प्रक्षेपण



मस्को, (एजेन्सी)
अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय भू–उपग्रह केन्द्र (इन्टरनेसनल स्पेस स्टेसन) तर्फ रुसले आज बुधबार एउटा मानवरहित अन्तरिक्ष यान प्रक्षेपण गरेको छ।

लामो समयका लागि रुसले लिजमा लिएको काजकिस्तानको बाइकोनुर अन्तरिक्ष यान प्रक्षेपण केन्द्रबाट हिजो बिहान सोयुज–यु बुस्टर रकेटमा जडान गरी प्रोग्रेस एमएस–०५ नामक उक्त अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरिएको रुसी सरकारी अधिकारीहरूले बताएका छन्।

सो मानवरहित मालवाहक अन्तरिक्ष यानमा इन्टरनेसनल स्पेस स्टेसनमा बस्ने वैज्ञानिकहरूलाई आवश्यक पर्ने उपकरण, सरसामान, खाद्य पदार्थलगायतका वस्तुहरू रहेको जनाइएको छ।

गत वर्षको १ डिसेम्बरका दिन यसै गरी रुसले प्रोग्रेस सीप प्रक्षेपण गर्दा जमिन छाडेको सात मिनेटमै उक्त यान आकाशमा विस्फोट भई मंगोलियाको सीमाक्षेत्र नजिकै साइबेरियाको दक्षिण क्षेत्रमा अवस्थित मानवबस्तीमा झरेको थियो।
दुर्घटनाग्रस्त यानले ठूलो परिणाममा रासायनिक फोहरमैला उत्सर्जन गरेको थियो। तर उक्त क्षेत्रमा मान्छेको बस्ती अलि पातलो भएकाले धनजनको खासै क्षति भएन। दुर्घटनापश्चात् गरिएको अनुसन्धानबाट यानको इन्जिनमा खराबी आई आकाशमै विस्फोट भएको पत्ता लागेको थियो।

सोही घटनलाई मध्यनजर राख्दै सो प्रोग्रेस एमएस–०५ प्रक्षेपण गर्नुपूर्व उक्त योजनाका प्राविधिक इन्जिनियर तथा वैज्ञानिकको टोलीले यानको इन्जिनलगायत अन्य पार्टपुर्जाको विस्तृत चेक, जाँचसहित निर्माण केन्द्रको पनि कडा अनुगमन गरेका थिए।

प्रक्षेपण गरिएको केही घण्टापछि निर्धारित समय र तालिकामा कुनै तलमाथि नभई सोयुज–यु बुस्टर रकेटबाट उक्त प्रोग्रेस एमएस–०५ कार्गो सिप छुट्टिएर पृथ्वीको कक्षमा प्रवेश गरेको थियो। त्यसको केहीबेरमै इन्टरनेसनल स्पेस स्टेसनको बाह्य घेरातर्फ जाने मार्गमा सो यान अघि बढिरहेको बताइएको छ। सो यान यही शुक्रबार स्पेस स्टेसनमा अवतरण गर्ने लक्ष्य राखिएको छ।

त्यसै गरी, संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको हाउस्टनबाट स्पेस–एक्स नामक वैज्ञानिक संस्थाद्वारा गत आइतबार प्रक्षेपण गरिएको ड्र्यागन नामक कार्गाे सप्लाई सिप पनि यस हप्ताभित्रै इन्टरनेसनल स्पेस स्टेसनमा पुगिसक्ने ह्युस्टनको मिसन कन्ट्रोल सेन्टरले अनुमान गरेको छ।

केही वर्षदेखि संयुक्त राज्य अमेरिका तथा रुसले संयुक्त लगानीमा अन्तरिक्ष अन्वेषण योजना सञ्चालन गर्दैै आइरहेका छन्।

यसै योजनाअन्तर्गतको अन्तरिक्षमा अवस्थित इन्टरनेसनल स्पेस स्टेसनमा हाल अमेरिकी अन्तरिक्ष संस्था नासा आबद्ध अन्तरिक्ष वैज्ञानिकद्वय सेन किम्ब्रो र पेग्गी ह्विट्सन, रुसी अन्तरिक्ष वैज्ञानिकहरू आन्द्रेइ बोरिसेन्को, सर्गेइ रिजिकोभ र ओलेग नोभित्स्कि तथा फ्रान्सेली अन्तरिक्ष वैज्ञानिक थोमस पेस्क्यु कार्यरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्