धम्की नदिन अमेरिकालाई इरानको चेतावनी



म्युनिख, (एजेन्सी)
इरानका विदेशमन्त्री जवाद जरिफले अमेरिकालाई धम्की दिन बन्द गर्न र आफ्नो देश धम्कीबाट डराउने खालको नभएको बताए।

जरिफले जर्मनीको म्युनिख शहरमा भइरहेको सुरक्षा सम्मेलनका क्रममा उक्त चेतावनी दिएका हुन्। बीबीसीलाई दिएको अन्तरवार्तामा जरिफले ट्रम्प प्रशासनमाथि इरानलाई उक्साउने र दिक्क पार्ने गरेको आरोप लगाए।
हालै गरिएको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणपछि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएर इरानलाई उक्साउन चाहेको बताए। यदि इरानमाथि धेरै प्रतिबन्ध लगाइए आफ्नो देशले पनि जवाफी कारबाही गर्ने अधिकार राखेको उनले चेतावनी दिए।

म्युनिखमा ५३औं सुरक्षा सम्मेलनमा अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले भाग लिएका थिए। पेन्सले आफ्नो सम्बोधनमा इरानलाई विश्वमा आतंकवाद प्रायोजित गर्ने सबैभन्दा ठूलो देश भएको आरोप लगाएका थिए। उक्त सम्मेलनमा सउदी अरेबिया र इजरायलले पनि इरानलाई क्षेत्रको सबैभन्दा ठूलो खतरा भएको बताएका थिए। जवाद जरिफले आफू धम्कीले डराउने खालको नभएको र धम्की कूटनीतिको उपयोगी हतियार नभएको बताए।

प्रतिक्रिया दिनुहोस्