चीन ब्रिक्स सम्मेलनका लागि सहयोग गर्न इच्छुक



बेइजिङ, (एजेन्सी)
चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरूसँग आवश्यक समन्वय र सहयोग गर्ने सोमबार जनाएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण अफ्रिकाका विदेशमन्त्री माइते एन्कोना मासाबानसँगको भेटवार्ताका क्रममा सो धारणा राखेका हुन्। हाल माइते चीनको भ्रमणमा रहेका छन्।

ब्रिक्सको सम्मेलन चीनको दक्षिणपूर्वी शहर सियामेनमा आगामी सेप्टेम्बरमा आयोजना हुने कार्यक्रम रहेको छ। सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले ब्रिक्सको आगामी सम्मेलनको सफलताका लागि तथा ब्रिक्सलाई थप विकसित र समावेशी आर्थिक विकासका रूपमा विकास गर्नका लागि चीनको सहयोग रहने कुरामा जोड दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

आर्थिक विश्वव्यापीकरण र समावेशी तथा सन्तुलित आर्थिक विकासका लागि ब्रिक्स संगठनलाई अघि बढाउनुपर्ने धारणा उनले व्यक्त गरेका छन्। चिनियाँ विदेशमन्त्री यीले चीन र दक्षिण अफ्रिकाको आपसी सम्बन्ध सुदृढ र सुमधुर रहेको बताएका छन्।

आपसी विश्वासमा आधारित सम्बन्धका कारणले चीन र दक्षिण अफ्रिकाको सम्बन्धमा सुमधुरता आएको पनि उनले बताएका छन्।

चीन र दक्षिण अफ्रिकाबीचको जनस्तरको उच्चस्तरीय बैठक आगामी केही समयमा आयोजना गरिने विषयमा पनि सो अवसरमा दुई देशका विदेशमन्त्रीस्तरमा सहमति भएको बताइएको छ।

दुई देशबीचमा स्थापित रहेको चीन–अफ्रिका सहयोगको बैठक आगामी केही समयमा बस्ने गरी तयारी भइरहेको बताइएको छ।

यस्तो बैठक सन् २०१५ मा जोहानेसवर्गमा आयोजना गरिएको थियो। उक्त सम्मेलनमा आर्थिकलगायतका विभिन्न मुद्दामा छलफल भएको थियो। त्यस अवसरमा दुई देश बीचमा विस्तार र अभिवृद्धि गरिनुपर्ने आर्थिक, व्यापारिक र लगानी अभिवृद्धिको विषयमा पनि आगामी सहयोग बैठकमा विस्तृतरूपमा छलफल हुने बताइएको छ।

ब्रिक्स संगठनका सदस्य राष्ट्रमा ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्