प्रेममय फेशन शो



प्रेम दिवसलाई लक्षित गर्दै त्यसअगाडि र पछाडिका दिनमा राजधानीमा थुप्रै कार्यक्रम र इभेन्ट भए। यसै क्रममा प्रदर्शाेन्मुख फिल्म लप्पन छप्पनका अभिनेता सिड खरेल र अभिनेतृ वर्षा सिवाकोटी शो स्टोपरका रूपमा र्याम्पमा बिरालको चाल मार्दै गरेको अवस्थमा भेटिए।

प्रेम दिवसलाई नै लक्षित गर्दै राजधानीमा आयोजना गरिएको फेसन सिक्रेट्स नामक फेसन कार्यक्रममा यी अभिनेता अभिनेतृले र्याम्प नाप्दै क्याटवक गरेका हुन्।

प्रेम दिवसको मुड र माहौल सुहाउँदो गरी युगल जोडीको सिक्वेन्सलाई कार्यक्रमको आरम्भमा प्रस्तुत गरिएको थियो। नेपाल इन्स्टिच्युट अफ फेसन, निफको आयोजनामा नवप्रवेशी फेसन डिजाइनरहरू उत्कृष्ट खड्का, वंशी खड्का, रिया महर्जन, सावना बेगम र अनीता लोहनीले सो फेसन कार्यक्रम आफ्नो फेसन सिक्रेटस्लाई सार्वजनिक गरेका हुन्।


आशिष पाण्डेको व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रममा यी डिजाइनरहरूले आ–आफ्नो एकल कलेक्सनका साथै सामूहिक कलेक्सन गरी ८ सिक्वेन्समार्फत् आफ्ना सिर्जना सार्वजनिक गरेका थिए। अर्गानिक कटन, सिफन, लाइक्रा ब्लेन्ड सिफन, नेट, भेल्भेट, रअ सिल्क, प्रिन्टेड जर्जेटलगायतका फ्याब्रिकहरूले प्राथमिकतामा सिर्जना गरिएका पहिरनहरू विशेष गरी कालो, खैरो, रातो, येलो अकर, अक्वा ब्लु, पिन्क, ग्रिन आदिका विभिन्न सेड्समा खेलिएका थिए। पहिरनहरूमा भने फिटेड, लुज फिटेड, ए लाइन तथा आवर ग्लास सिलहुट्सको बाहुल्यता थियो।

प्रितम श्रेष्ठ कारञ्जितको कोरियोग्राफी रहेको कार्यक्रममा मेड इन नेपाल शीर्षकको सिक्वेन्समा भने नेपाली मौलिक फ्याब्रिकमा तयार पारिएका परिहनले प्रधानता प्राप्त गरेको थियो भने अन्तिम सिक्वेन्सलाई रोयल शीर्षक दिइएको थियो। जसमा पहिरनहरू मूलतः राजकीय शैली, सम्पन्नता र चरित्रको चित्रणअनुरूपका थिए।

नवप्रवेशी डिजाइनरहरूको सीप, क्षमता अभिवृद्धिका साथै फेसन डिजाइनिङ क्षेत्रको व्यवसायिक पाटोलाई विस्तारित गर्न कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था निफका प्रबन्ध निर्देशक एवं टेक्सटाइल इन्जिनियर अमित झाले बताएका छन्। उनका अनुसार सोहीअनुरूप फेसन सिक्रेट्स कार्यक्रममा पाँच नयाँ फेसन डिजाइनरले यो आयोजनामा आफ्नो डिजाइनिङ कला देखाएका हुन्।

राति अबेरसम्म आफ्टर पार्टी झुमेको कार्यक्रममा दिपक घिमिरे र अनीता लिम्बु तथा मोडल एवं सञ्चारकर्मी शुभ आचार्य पनि शो स्टपरका रूपमा देखिएका थिए। कार्यक्रमलाई कलाकार महादेव त्रिपाठी, गायकहरू निर्णय श्रेष्ठ, रवि रिमाल प्रशान्त मिस्टलगायतका गायकहरूले मनोरञ्जनपूर्ण बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्