बंगलादेसविरुद्ध भारतको जित



नयाँ दिल्ली, (एजेन्सी)
हालै न्युजिल्यान्ड र इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिज जितेको भारतले बंगलादेशलाई पनि एक मात्र टेस्टमा हराएको छ।

भारतले सोमबार सो एक मात्र टेस्ट २ सय ८ रनले जितेको हो। हैदराबादमा भएको टेस्टमा भारतले ४ सय ५९ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य बंगलादेशले पछ्याउन सकेन। संघर्षरत ब्याटिङ गरेको पाहुना टोली २ सय ५० रनमै रोकियो। भारतको तर्फबाट रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले चार –चार विकेट लिए। त्यस्तै इशान्त शर्माले दुई विकेट हात पारेका थिए।

बंगलादेशले टेस्ट बचाउन कोसिस गरेको थियो। तर बराबरी गर्ने आशाले खेले पनि भारतीय बलरले उनीहरूलाई सफल हुन दिएनन्। टोलीका लागि महमुदुल्लाह ६४ रन र सौम्य सरकारले ४२ रन बनाए।

सो टेस्टमा भारतीय कप्तान विराट कोहली म्यान अफ द म्याच घोषित भए। उनी दोहोरो सतक प्रहार गरेर लगातार चार सिरिजमा २ सय रन कटाउने विश्वका पहिलो ब्याटसम्यान बनेका हुन्। कोहलीले डोनाल्ड ब्रेडमेन र राहुल द्रविडलाई तीन लगातार सिरिजमा दोहोरो सतक बनाउने सूचीमा पछाडि पारेका छन्।
यस्तै भारतीय टोलीका अन्य ब्याटसम्यानले पनि म्याच जिताउन अहम भुमिका खेले। मुरली विजयले १ सय ८ रन बनाए भने ऋद्धिमान साहाले १ सय ६ रन जोडे। त्यस्तै सतकबाट चुकेका आजिन्क्य रहाणेले ८२ रन र चेतेश्वर पुजाराले ८४ रन बनाएका थिए।
भारतले पहिलो इनिङमा ६ सय ८७ रन बनाउँदा बंगलादेशले जवाफमा ३ सय ८८ रन जोड्यो। जसमा मुसफिकुर रहिमले सानदार १ सय २७ रन बनाए। दोस्रो इनिङमा भारतीय टोलीले ४ विकेटको क्षेतिमा १ सय ५९ रन बनाएर इनिङ समाप्ति भएको घोषणा गरेको थियो। भारतको लागि पुजाराले ५४ रन र कोहलीले ३८ रनको योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्