कलाकारहरू राप्रपा पार्टीमा प्रवेश



कला क्षेत्रमा राजनीतिक दलमा नलाग्ने कलाकार को–को छन् भनेर खोज्नुपर्ने बेला भएको छ। विभिन्न विधाका कलाकारहरू विभिन्न राजनीतिक दलमा आबद्ध भएपछि यस्तो परिस्थिति सिर्जना भएको हो। यसै क्रममा झन्डै ३ दर्जन कलाकार राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

राप्रपाद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा कलाकारहरू सो पार्टीमा प्रवेश गरेका हुन्। राप्रपाका कोषाध्यक्ष, निर्माता तथा वितरक उद्धव पौडेल, केन्द्रीय सदस्यद्वय नायिका रेखा थापा र गायिका कोमल वली सहभागी कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले कलाकारहरूलाई टीका र माला पहिराई पार्टी प्रवेश गराएका थिए। अभिनेता तथा निर्देशक रवीन्द्र खड्काको नेतृत्वमा कलाकारहरू पार्टी प्रवेश गरेका हुन्। खड्काका साथमा रामचन्द्र अधिकारी, अयुव केसी, सम्झना बुढाथोकी, कृषा चौलागाईं, प्रदीप बास्तोला, किसान पोखरेल, सुष्मा भट्टलगायतका कलाकार सो पार्टीमा प्रवेश गरेका हुन्। कलाकारहरूले हिन्दुराष्ट्र र राजतन्त्र राप्रपाको मूल नारा भएकाले सो पार्टीमा आबद्ध भएको बताएका थिए।

पार्टी प्रवेश गर्नेहरूको सूचीमा अभिनेता मदनदास श्रेष्ठको नाम रहे पनि दोलखाबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले सो पार्टीमा आबद्ध भएको खबर सही नभएको बताए। ‘फोन आएको थियो। सल्लाह गर्नुपर्छ भनिएको थियो, तर मेरो त नामै आएछ’, नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले भने– ‘म इन्डिपेन्डेन्ट हिसाबले कार्यक्रम गर्नुपर्छ भनेर सोच बनाइरहेको मान्छे, कहाँ पार्टी प्रवेश गर्नू?’

प्रतिक्रिया दिनुहोस्