होदालाई भारतमा बुझाउन दबाब



गोकुल घोरसाइने, बारा
दुई भारतीय नागरिक अरुण राम र दीपक रामको हत्या आरोपमा पक्राउ परी थप अनुसन्धानका लागि बारा प्रहरीको हिरासतमा रहेका जिल्लाको पर्शुरामपुर–४ का समसुल होदालाई आफूसमक्ष बुझाउन भारतीय पक्षले नेपाल प्रहरीमाथि दबाब बढाएको छ।

अनुसन्धानका क्रममा होदाको अन्तर्राष्ट्रिय आतंककारी समूहसँग सम्बन्ध देखिएको र पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको नेपाल भारत सीमा नजिक भारतको घोडासहन र लकरदही रेल्वे स्टेसनमा बम विस्फोट गराउने योजना विफल बनेपछि उत्पन्न विवादमा अरुण र दीपकको हत्या भएको खुलेपछि भारतीय पक्षले होदाको हस्तान्तरण निम्ति नेपालमा दबाब बढाएको हो।

जिल्ला प्रहरी कार्यालय बाराले भारतीय पक्षको दबाबबारे बताउन इन्कार गरे पनि स्रोतका अनुसार औपचारिक तथा अनौपचारिक रूपमा भारतीय पक्षले होदालाई आफूसमक्ष बुझाउन नेपाल प्रहरीमाथि दबाब बढाउँदै आएको छ। जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी अधिकृतले भारतीय चासोबारे आफूलाई जानकारी नभएको र होदालाई जिल्ला प्रहरी कार्यालय बारामार्फत् नै कानुनी कारबाही अघि बढाइने बताए।

‘रेल्वे स्टेसनमा बम विस्फोटन गराउने योजना विफल बनेकै कारण हत्या भएको देखियो’, उनले भने– ‘तर भारतमा भएको उक्त वारदातका आधारमा होदालाई प्रहरीले कारबाही गर्न सक्दैन।’ उनले भारतीय नागरिकलाई नेपालमा बोलाएर हत्या गरिएको अभियोगमा होदासहित घटनामा संलग्न अन्यलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र कर्तव्य ज्यान र संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भएको पनि जानकारी दिए। भारतबाट प्रकाशन हुने केही पत्रिकाले पनि होदालाई आफ्नो नियन्त्रणमा लिन भारत सरकारले नेपालमाथि दबाब बढाउनुपर्ने आशयसहितका समाचार प्रकाशित गरेपछि भारतीय प्रहरीले चासो बढाएको हो।

प्रहरीले डोरीले हातखुट्टा बाँधेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा जिल्लाको करैया गाविस–८ स्थित जंगलमा भारत, पूर्वी चम्पारण लक्ष्मीपुर पोखरियाका १८ वर्षीय दीपक र २८ वर्षीय अरुणको शव गत पुस १३ गते फेला पारेको थियो। हत्या अनुसन्धान गर्ने क्रममा आतंककारी समूहको जालो बाहिर आएको प्रहरी उपरीक्षक नरेन्द्रकुमार उप्रेतीले बताए।

जिल्ला प्रहरी कार्यालय बारामा गत माघ २५ गते पत्रकार सम्मेलनमार्फत उपरीक्षक उप्रेतीले आर्थिक लाभका लागि होदाले नेपाल र भारतका युवालाई र सोही क्रममा दुई भारतीय नागरिकको नेपाल ल्याएर हत्या गरिएको सुनाए। प्रहरीका अनुसार विगत डेढ वर्षअघि पर्यटकीय भिषामा दुबई पुगेका होदाले पाकिस्तानी नागरिक सफीसंग सम्पर्क गरी अन्तर्राष्ट्रिय आतंकवादी समूह समेतसंग सहकार्य गरी नेपालसँग सिमाना जोडिएको रेल्वे स्टसनहरूमा शक्तिशाली बम विष्फोटन गराउने र मानवीय क्षति पुर्याउने योजनाअन्तरगत जिल्लाको महागढीमाई १ सेमरा तगछिया टोल निवासी २७ वर्षीय गिरी बाबा भनिने बृजकिशोर गिरीले भारतीय नागरिक राजु भन्ने उमाशंकर पटेलमार्फत मृतकद्वय अरुण र दीपकलाई ८ लाख रुपियाँ अग्रिम भुक्तानी गरी जिम्मा दिएको भए पनि घोडासहन रेल्वे स्टेसनमा विष्फोट गराउन प्रयास विफल बनेको र नकरदेही स्टेसनको विष्फोटबाट कुनै क्षति नभएपछि पुनः गराउन आग्रह गर्दा नमानेपछि होदाको निर्देशनमा गिरीले कलैया १० निवासी ३५ वर्षीय मोजाहिर अन्सारीमार्फत फोनबाट बोलाएर ‘पिक्निक’ खान भनी टाटासुमोमा जंगल पुर्याएर हत्या गरिएको प्रहरीको भनाइ छ। हत्यामा कलैया नगरपालिका ४ निवासी २४ वर्षीय आशिष सिंह र सोही ठाउँ बस्ने २३ वर्षीय उमेशकुमार कुर्मीको समेत संलग्ता रहेको र सबैलाई हिराशतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बतायो। प्रहरीका अनुसार एउटै मोटरसाइकलबाट पुष ८ मा नेपाल छिरेका दुबैको भोलिपल्ट नै हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्