कोहलीको नयाँ कीर्तिमान



नयाँ दिल्ली, (एजेन्सी)
बंगलादेशविरुद्ध हैदरावादमा खेलिरहेको टेस्ट म्याचमा विराट कोहलीले शुक्रबार एक नयाँ कीर्तिमान बनाएका छन्।

२ सय रन बनाएपछि लगातार चार लगातार टेस्ट सिरिजमा चार दोहोरो शतक प्रहार गर्ने विश्वका पहिलो ब्याटसम्यान बनेर कोहलीले कीर्तिमान रचेका हुन्। यसअघिसम्म भारतीय कप्तान कोहली सर डोनाल्ड ब्रेडम्यान र भारतका राहुल द्रविडसँग तीन लगातार सिरिजमा दोहरो शतक लगाउनेमा उनको नाम सूचित भएको थियो। अब उनले यी दुई महान् ब्याटसम्यानलाई पछाडि पारेका छन्। कोहलीले गत डिसेम्बरमा इंग्ल्यान्डविरुद्ध २ सय ३५ रन, अक्टोबरमा न्युजिल्यान्डविरुद्ध २ सय ११ रन र जुलाईमा वेस्ट इन्डिजविरुद्ध २ सय रन बनाएका थिए।

जारी टेस्टको दोस्रो दिन कोहली २ सय ४ रन बनाएर ताइजुल इस्लामको बलमा एलबीडब्ल्यू आउट भएका थिए। भारतले दोस्रो दिनको खेल समाप्तिसम्म ६ विकेटको क्षतिमा ६ सय ८७ रनमा पहिलो इनिङ सकिएको घोषणा गरेको थियो। भारतका तर्फबाट हिजै आउट हुनेमा ८२ रन बनाएका आजिन्क्य रहाणे थिए। तर विकेटकिपर ब्याटसम्यान रिदिमान साहले १ सय ६ रन बनाएका थिए।

बंगलादेशविरुद्धको एक मात्र टेस्टमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेको हो। जसमा भारतले पहिलो दिन ३ विकेटको क्षतिमा ३ सय ५६ रन बनाउँदा कोहलीले एक सिजनमा १ हजार रन पूरा गरेका थिए। एकै सिजनमा १ हजार रन पूरा गर्ने सूचीमा सुनील गावस्कर र वीरेन्द्र सेहवागपछि कोहली तेस्रो ब्याटसम्यानका रूपमा सूचित भएका छन्। पहिलो दिन मुरली विजयले शतक प्रहार गरेका थिए। उनले १ सय ८ रन बनाउँदा चेतेश्वर पुजारा ८३ रन बनाएर शतकबाट चुकेका थिए। यस्तै लोकेश राहुलले मात्र २ रन जोडेका थिए।

प्रतिक्रिया दिनुहोस्