छोपछाप पारिँदै सिंहदरबार



भत्काउने वा नभत्काउने भन्ने बारेमा टुंगो लाग्न बाँकी

ईश्वरराज ढकाल, काठमाडौं
भूकम्प गएको करिब २२ महिनापछि देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबारलाई छोपछाप पारिने भएको छ। सिंहदरबारको पश्चिमतर्फको भाग संरक्षण गर्न गठित कार्यान्वयन उपसमितिले पहिलो काम भवनको सम्पूर्ण भाग छोप्ने र स्काफोल्डिङ गर्न लागेको हो।

शहरी विकास तथा भवन निर्माण विभागले भत्काउने तयारी गरिरहेको अवस्थामा कार्यान्वयन उपसमितिको बैठकले तत्काल घाम–पानीबाट जोगाउन छोप्ने र फलाम खट बाँध्ने काम शुरु गर्न लागेको हो। सिंहदरबारलाई रेक्ट्रोफिट गर्ने वा भत्काएर पुनर्निर्माण गर्ने? भन्ने विषयमा अहिले कुनै निर्णय भइसकेको छैन। स्ट्रक्चरल इन्जिनियरको विशेषज्ञ टोलीले पुनः विस्तृत अध्ययन गरेर मात्रै भत्काउने वा रेक्ट्रोफिट गर्ने भन्ने विषयमा निर्णय हुनेछ।’ –उपसमितिका सदस्य एवम् पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

उहाँले पहिलो काम सो भवनलाई पानी पस्न नदिन छोप्ने बताउनुभयो। भत्कन नदिन अन्य दरबारको जस्तै फलामको खट बाँध्ने काम शुरु गर्ने निर्णय भएको उहाँले बताउनुभयो। हिजो शुक्रबार बसेको उपसमितिको बैठकले राष्ट्रको मुख्य सम्पदा भएकाले यसलाई बचाइराख्न हरसम्भव प्रयास गरिने जनाइएको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले उपसमितिको बैठकले सिंहदरबार संरक्षण गर्न प्राधिकरणले जस्तोसुकै कदम चाल्ने बताउनुभएको थियो। ‘मुख्य प्रशासनिक भवनलाई सकभर रेक्ट्रोफिट (सबलीकरण) नै गरिनेछ, नभए इन्जिनियरको विशेष समितिले दिएको प्रतिवेदनका आधारमा थप काम अघि बढाइनेछ।’ –उहाँले भन्नुभएको थियो। प्राधिकरणले प्राधिकरणकै कार्यकारी सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको थियो।

प्राधिकरणले सिंहदरबार पुनर्निर्माण गर्ने विषयमा प्रत्येक हप्ता प्रगति र समीक्षा बैठक बस्ने भएको छ। उपसमितिले आवश्यक पर्दा पुरातत्त्वविद् तथा इन्जिनियरहरूको एक सल्लाहकार समितिसमेत बनाउने तयारी गरेको छ। प्राधिकरणले नेपालकै गौरवका रूपमा रहेको सिंहदरबारलाई सकेसम्म नभत्काउने गरी अध्ययन शुरु गरेको छ।

सिंहदरबार मात्र होइन अन्य दरबारलाई पनि सकेसम्म रेक्ट्रोफिट गर्ने गरी अध्ययन शुरु भइरहेको विभागका महानिर्देशक दाहालले बताउनुभयो। भवन निर्माण विभागले सिंहदरबार भत्काउने तयारीसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाउँदा विभागले कडा प्रतिवाद गरेको थियो। त्यसलगत्तै प्राधिकरणले सबैपक्षलाई बोलाई छलफल गरेको थियो। त्यसको केही सातापछि प्राधिकरणका सीईओ डा. पोखरेलले सिंहदरबारलाई भत्काउनुभन्दा रेक्ट्रोफिट गर्नुपर्ने जनाउनुभएको थियो।

राणाले दिएको उपहारलाई सरकारले ध्वस्त पार्न लागेकोमा सर्वत्र विरोध भएपछि प्राधिकरणले भूकम्पबाट ध्वस्त भएको अन्य दरबार पनि रेक्टोफिट गर्न अध्ययन शुरु गरेको छ। भूकम्पअघि प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबारको मुख्य भवनको छाना खसेको छ। पर्खालहरू भत्किएका छन् भने अधिकांश भाग चर्किएको छ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले इस्बी सम्बत १९०३ मा आफ्नो निजी निवासको रूपमा निर्माण गरेको सिंहदरबारमा राणा शासनको अन्त्यपछि २००७ सालमा नेपाल सरकारको कार्यालय राखिएको थियो। २०३० सालमा आगलागी भएको थियो।

यसैबीच, पुरातत्त्व विभागले सबै पुरातत्त्व विभागको पुनर्निर्माण गर्न जापानी इन्जिनियरको सहयोग लिने भएको छ। भूकम्पको अति जोखिम र प्रायजसो भूकम्प गइरहने मुलुक जापान सरकारले नेपालका आर्किटेक्ट र स्ट्रक्चरल इन्जिनियरलाई सहयोग गर्न एक जना आर्किटेक्ट र एक जना स्ट्रक्चरल इन्जिनियर पठाउने भएको छ। एकजना आर्किटेक्ट इन्जिनियर आइसकेका र अर्को एकजना आउने क्रममा रहेका छन्– ‘विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले भन्नुभयो। दुवैजना विभागकै मातहतमा रहेर काम गर्ने उहाँले बताउनुभयो।’

प्रतिक्रिया दिनुहोस्