प्रचण्डलाई ओलीको दबाब ‘छिटो चुनाव गराऊ’



नेपाल समाचारपत्र
काठमाडौं
संविधान कार्यान्वयन गर्न निर्वाचन गर्नुपर्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभएको छ। जवाफमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई मिलाएर निर्वाचनको घोषणा गर्ने तयारी गरिरहेको जवाफ दिनुभएको छ।

शुक्रबार माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले निर्वाचन नगरी मुलुकलाई अनावश्यक झन्झटमा फसाउन खोजेको आरोप लगाउँदै तत्काल चुनावको मिति घोषणा गर्न आग्रह गर्नुभएको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ। भेटवार्तामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र श्रेष्ठ तथा एमालेका अध्यक्ष ओली तथा भीम रावल सहभागी हुनुहुन्थ्यो।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई चुनावको तयारी गर्दै छु भनेर मात्र नहुने भन्दै चुनाव गर्ने विश्वासिलो वातावरण बनाउनुपर्ने बताउनुभएको थियो। मधेसी मोर्चालाई मनाएर निर्वाचन घोषणा गर्ने प्रधानमन्त्रीको तयारीबारे एमाले अध्यक्ष ओलीले कुनै एउटा समूहको आग्रह पूरा गर्न राज्य र संविधानलाई निरिह बनाउन नहुने जवाफ दिनुभएको थियो। ओलीले प्रधानमन्त्रीलाई निर्वाचन गराउन संविधान संशोधनको आवश्यकता नभएको पनि औंल्याउनुभएको स्रोतले जानकारी दिएको थियो।

एमाले र माओवादी शीर्ष नेताहरूको बैठकअघि माओवादी नेता श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेको बताउनुभएको थियो।

उहाका अनुसार फागुनको पहिलो साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा हुनेछ। एमाले शीर्ष नेताको छलफलपछि माओवादी नेता श्रेष्ठ शुक्रबार नै पार्टीको कार्यक्रममा भाग लिन दिल्ली जानुभएको समाचार स्रोतले जानकारी दिएको छ।

यता गृहमन्त्री विमलेन्द्र निधिले पनि मधेसी मोर्चालाई सहमतिमा नल्याई निर्वाचन गराउन नसकिने बताउनुभएको छ। शुक्रबार परासिमा आयोजित एक कार्यक्रममा गृहमन्त्री निधिले संविधान संशोधन प्रस्तावलाई टुंगोमा पुर्याएपछि मात्र निर्वाचनमा जाने बताउनुभएको थियो। साथै उहाँले सरकारले निर्वाचनको वातावरण बनाउन लागिपरेको पनि बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्