रुथलाई वंशजको आधारमा नागरिकता दिन अदालतको आदेश



नेपाल समाचारपत्र
बाँके

बाँकेकी रुथ घर्तीमगरलाई वंशजका आधारमा नागरिकता दिन अदालतले आदेश गरेको छ।

पतिको नामबाट वंशजको आधारमा आमाले नेपाली नागरिकता प्राप्त गरेको, आफ्नै ठूली दिदी निर्मलाले बाबुकै नामबाट वंशजको आधारमा नेपाली नागरिकता पाए पनि आफूलाई बुबाको नामबाट वंशजको नागरिकता नदिएपछि रुथ अदालतको शरणमा पर्नुभएको थियो। रुथलाई जिल्ला प्रशासन कार्यालय, बाँकेले बाबुको राष्ट्रियता नखुलेको भन्दै नागरिकता दिन इन्कार गरेको थियो।

२०७४ असोज ४ गते उच्च अदालत, तुलसीपुर नेपालगन्जमा दायर गरेको परमादेश मुद्दामा न्यायाधीशद्वय शेषराज सिवाकोटी र वीरबहादुर डाँगीको संयुक्त इजलासले रुथलाई वंशजको आधारमा १५ दिनभित्र नागरिकता उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई आदेश गरेको छ। आदेशमा भनिएको छ– ‘निवेदिका रुथ घर्तीको आमा कमला घर्तीले पति लोकराज घर्तीको नाउँबाट वंशजको नेपाली नागरिकता प्राप्त गरेको तथा रुथ घर्तीको दिदी निर्मला घर्तीले पनि बाबु लोकराज घर्तीकै नाउँबाट वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट निवेदक रुथ घर्तीको बाबुको राष्ट्रियता नखुलेको भनी नागरिकता दिन इन्कार गर्न मिल्दैन। निज रुथ घर्तीलाई १५ दिनभित्र वंशजको आधारमा नेपाली नागरिकता दिनु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ।’

अदालतले व्यक्तिको नाम नै किटेर वंशजको आधारमा नागरिकता दिन आदेश गरेको यो दोस्रो घटना हो। यसअघि बाँकेकै वर्षा शर्मालाई आमाको नामबाट वंशजको नागरिकता दिन अदालतले किटेर आदेश गरेको थियो।
वागेश्वरी–२ स्थित आफ्नै घरमा २०५३ मंसिर ६ गते जन्मिएकी रुथको २०६८ मंसिर १० गते बुबाको मृत्यु भएको थियो। कक्षा १२ मा अध्ययनरत रुथले नागरिकता नहुँदा बैंकमा खाता खोल्ने, घरजग्गा खरिद गर्ने, लोकसेवाको परीक्षा दिन पाउने तथा रोजगारी गर्न पाउने अधिकारबाट वञ्चित भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्