आयोगका पदाधिकारीको जागिर जोगियो



काठमाडौं, (नेस)
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको हो। द्वन्द्वकालको घटना छानविन गर्न गठित आयोगको म्याद माघ २८ गते आज शुक्रबार सकिँदै थियो।

मन्त्रिपरिषद्को बैठक एउटा मात्र विषयमा केन्द्रित भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राम (सुरेन्द्र) कार्कीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

बैठकले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्ति गर्ने तयारी गरे पनि सतारूढ दलहरूबीचको विवादका कारण सो विषयमा प्रवेश नगरेको बुझिएको छ। त्यसले गर्दा एउटा मात्र निर्णय गरेर आधा घण्टाभित्र बैठक सकिएको थियो।
आउँदो फागुन २ गते प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अवकाश पाउनुहुने भएको छ। आउँदो साता बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ महानिरीक्षक नियुक्ति गर्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्