चन्दलाई प्रहरी प्रमुखमा सिफारिस गर्न निर्देशन



नेपाल समाचारपत्र
काठमाडौं
पप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीको २५औं महानिरीक्षकमा हाल वरीयताको तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दको नाम सिफारिस गर्न गृह सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको छ।
यसअघि वरीयताको १ नम्बरमा रहेका डीआईजी नवराज सिलवालको पक्षमा लबिङ गर्दै आउनुभएका मन्त्री निधिले पार्टी सभापतिको पटकपटकको आग्रहपछि उहाँलाई आईजीपीका लागि नाम सिफारिस गर्न निर्देशन दिनुभएको हो।

आगामी आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त नाम मन्त्रालयको तर्फबाट पेस गर्ने गरी फाइल तयार पार्न मन्त्री निधिले सचिव रेग्मीलाई निर्देशन दिएको गृह उच्च स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो। नेपाल प्रहरीको वरीयता नमिच्ने अडानमा रहनुभएका मन्त्री निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पटकपटक फोन गरेर आगामी तीन निर्वाचनलाई ध्यानमा राखेर चन्दलाई आईजीपी बनाउनुपर्ने अडान राखेपछि उहाँले पनि आईजीपीमा चन्दको नाम सिफारिस गर्न निर्देशन दिएको बताइएको छ।

यस विषयमा गृह सचिव रेग्मीसँग सम्पर्क गर्दा उहाँले अहिले यस विषयमा आफूलाई केही जानकारी नभएको भन्दै केही बताउनुभएन। नेपाल प्रहरीको आईजीपी नियुक्तिका लागि पार्टी सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच पटकपटक वार्ता भए पनि सहमति नभएपछि बिहीबारको बैठकमा आईजीपी नियुक्तिको विषयले प्रवेश पाएको थिएन। बिहीबारकै बैठकमा प्रधानमन्त्री प्रचण्डलाई आईजीपी नियुक्तिका लागि देउवाले पटक–पटक टेलिफोन गरेको भए पनि मन्त्रालयबाट प्रस्ताव नगएपछि नियुक्ति प्रक्रिया अगाडि बढेको थिएन।

सभापति देउवाले गृहमन्त्री निधिलाई पार्टी उपसभापति र पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउने योजना सार्वजनिक गरेपछि गृहमन्त्री निधि आफ्नो अडानबाट एक कदम पछाडि हटेर तेस्रो नम्बरमा रहेका चन्दको नाम सिफारिस गरेको स्रोतले जानकारी दियो।

यता प्रधानमन्त्री प्रचण्ड भने प्रहरी संगठनको चेन अफ कमान्ड बिगार्न नहुने अडानमा रहेको कारण आइतबारको नियुक्ति प्रक्रिया पनि विवादित हुने आशंका गरिएको छ। यही अडानका कारण बिहीबारको मन्त्रिपरिषद्को बैठक बस्न नसकेपछि बेलुकी बसेको थियो।

आगामी फागुन ३ गतेबाट प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकास पाउने भएपछि हालका ४ जना डीआईजीमध्येबाट आईजीपी बनाउनुपर्ने बाध्यतामा सरकार रहेको छ। हाल सो संगठनमा १ नम्बरमा सिलवाल, २ नम्बरमा प्रकाश अर्याल, ३ नम्बरमा चन्द र ४ नम्बरमा बमबहादुर भण्डारी रहेका छन्।

नेपाल प्रहरीको इतिहासमा अब बन्ने आईजीपी २५औं आईजीपी हुनेछन्। यसअघि २२ जना आईजीपी वरिष्ठताको आधारमा नियुक्त हुँदै आएका थिए भने २ जनालाई मर्यादा मिचेर आईजीपी बनाईएको थियो। चन्द सुदूरपश्चिमको भएको र अब हुने निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने वचन दिएकाले आफूले जस्तोसुकै विवाद भए पनि चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णयमा देउवा पुग्नुभएको बताइएको छ।

सोही दिनबाट अर्को प्रहरी संगठन सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले अनिर्वाय अवकास पाउँदै छन्। सो संगठनमा भने वरिष्ठताको आधारमा १ नम्बर रहेका सिंहबहादुर श्रेष्ठलाई आईजीपी बनाउने विषयमा भने खासै विवाद रहेको छैन।

नेपाल प्रहरीमा नेपाली कांग्रेस र सशस्त्र प्रहरी बलमा नेकपा माओवादी केन्द्रले आईजीपी नियुक्त गर्ने दुई पार्टीबीच भएको सहमतिअनुरूप माओवादी केन्द्रले भने वरिष्ठतालाई नमिच्ने भन्दै श्रेष्ठको नाम सिफारिस गर्न गृहमन्त्रीलाई निर्देशन दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्