प्रक्रिया नमिल्दा औषधि खरिद गर्न समस्या



विमल विष्ट, डोटी
जिल्ला जनस्वास्थ्य कार्यालय डोटीमा वार्षिक ४५ लाख बराबरको औषधि आवश्यक पर्ने भए पनि औषधि खरिदका लागि केन्द्रबाट थोरै रकम आउने गरेको छ। बिरामीको चापका आधारमा जनस्वास्थ्य कार्यालयले जिल्लामा औषधि खरिदका लागि ४५ लाख माग गरेको भए पनि केन्द्रबाट थोरै रकम आउँदा जिल्लामा औषधि अभाव देखिन थालेको छ। जिल्लामा औषधि खरिद गर्नका लागि तीन–तीनपटक सूचना निकाल्नुपर्ने झन्झटिलो प्रक्रिया भएका कारण औषधि खरिद गर्नमा समस्या हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी तेजविक्रम शाहीले हरेक वर्ष निःशुल्क रूपमा वितरण गर्नुपर्ने औषधि खरिदका लागि ४५ लाख केन्द्रबाट आउने गरेको र यसपटक केन्द्रबाट औषधि खरिद गर्नुपर्ने विषयमा केही प्रक्रिया नमिलेर आउँदा समस्या देखिन थालेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘केन्द्र र क्षेत्रबाट उपलब्ध हुने औषधि आउने कुनै निश्चित नहुने गरेको छ। गत असोजमा पहिलो चरणमा हामीले आफैं ३ लाख बराबरको ४० प्रकारको औषधि खरिद गरी जिल्लाभरका स्वास्थ्य संस्थामा वितरण गर्यौं, अब त्यो पनि सकिन थालिसक्यो, औषधि खरिदका लागि टेन्डर खोल्दै छौं, अब आउँछ होला।’

जिल्लाभरिमा ४९ वटा स्वास्थ्य चौकी, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा जिल्ला अस्पताल, ४ वटा नगर स्वास्थ्य केन्द्र, ४ वटा सामुदायिक स्वास्थ्य एकाइ रहेका छन्। अहिले जिल्ला जनस्वास्थ्यले ५ लाखको औषधि खरिद गरेको भए पनि त्यो औषधि पनि पर्याप्त मात्रामा नपुग्ने स्वयम् स्वास्थ्यकर्मी नै बताउँछन्।

उनीहरू भन्छन्– ‘अहिले आएको ५ लाखको औषधि जिल्ला अस्पताललाई नै पुग्दैन अरूलाई के दिनु।’ जिल्ला जनस्वास्थ्यले खरिद गरेको ५ लाखको औषधि केही दिनभित्रमा वितरण गरिने समेत सूचना अधिकारी शाहले बताउनुभयो। उहाँले भन्नुभयो– ‘५ खालको औषधि हामीले पुनः किनेका छौं, केही दिनमा वितरण हुनेछ।’ यहाँका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरूमा सिटामोल जस्तो सामान्य औषधि पनि सकिएको स्थानीयबासीको आरोप छ। जिल्ला जनस्वास्थ्यका अनुसार जिल्ला सदरमुकाममा रहेको अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीहरूबाट ३६ प्रकारका औषधि निःशुल्क वितरण गर्नुपर्ने हुन्छ। डोटीमा औषधि भण्डारणको समेत समस्या रहेको जनस्वास्थ्यले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्