मोर्चा कार्यकर्ता उपमहानगरपालिका मागको आन्दोलनमा



गोकुल घोरसाइने, बारा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका स्थानीय नेताकार्यकर्ता यति बेला बाराको कलैया नपालाई उपमहानगरपालिका बनाउनुपर्ने मागको आन्दोलनमा सक्रिय छन्। स्थानीय तह पुनर्संरचना आयोगले जिल्लामा आयोजना गरेको सुझाव संकलनमा अवरोध पुर्याएका मोर्चा कार्यकर्ता प्रतिवेदन सार्वजनिक भएलगत्तै उद्योग वाणिज्य संघ कलैयाको अगुवाइमा शुरू भएको आन्दोलनमा सरिक भएका हुन्।

कलैयालाई पनि उपमहानगरपालिका बनाउनुपर्ने माग राखेर संघले शुरू गरेको आन्दोलनमा प्रमुख दलसहित मोर्चाका कार्यकर्ता पनि कलैयास्थित भरत चोकमा ३ सातादेखि रिले अनशन र विरोध जुलुस प्रदर्शनमा सहभागी बनेका छन्।
आफ्ना मागबारे प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेतालाई जानकारी गराउन संघका अध्यक्ष विनोद साह नेतृत्व टोलीमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसभासद् प्रमोद गुप्ता पनि गत हप्ता काठमाडौं पुगेका थिए। ‘उपमहानगरपालिकाको मागमा मोर्चा पनि समर्थन छ’, पूर्वसभासद गुप्ताले भने– ‘आयोगको प्रतिवेदनलाई अस्वीकार गर्दागर्दै पनि जनताको माग र आन्दोलनमा मोर्चाको साथ र समर्थन छ।’ आयोगले संघीयताको सिद्धान्त र मर्म विपरीत स्थानीय निकाय कायम गरेकाले प्रतिवेदनको विरोध गर्नुपरेको पनि सुनाए। स्थानीयले भने मोर्चा कार्यकर्ताले समयमा विवेक पुर्याएर काम गर्न नसकेकाले अहिले समस्या देखिएको बताए। सुझाव संकलनका क्रममा कार्यक्रम हुन नदिने र अहिले आएर आन्दोलन गर्नुको अर्थ नभएको उनीहरूको भनाइ छ। ‘उपमहानगरपालिका मागको आन्दोलनमा मोर्चाको समर्थन र सहयोग सराहनीय छ’, उवासंघका एक सदस्यले भने– ‘तर समयमा बुद्धि पुर्याएर सिफारिस गराउन सकेको भए आज आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो।’ उनले आयोगले मागेको बेलामा सुझाव संकलन कार्यक्रम बिथोल्ने मोर्चा कार्यकर्ता पनि अहिले पछुताएको बताए।

मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने धम्कीका कारण स्थानीय विकास अधिकारीको भरतप्रसाद ढुंगाना संयोजकमा रहेको जिल्ला प्राविधिक सहयोग समितिले निर्धारित समयमा स्थानीय तहको सिमाना र संख्याबारे सुझाव दिन नसकेपछि आयोगले जिल्लाबाट प्रतिनिधित्व गर्ने व्यवस्थापिका संसद्का सदस्यहरूको सुझावलाई आधार बनाएर १ उपमहानगरपालिकासहित ५ नपा र १३ स्थानीय तहको प्रतिवेदन सरकारसमक्ष पेस गरेको थियो। मधेसवादी दलका कार्यकर्ताको धम्कीका कारण कांग्रेस, एमाले र एमाओवादीले पनि आयोगलाई सुझाव दिन सकेका थिएनन्।

३ वर्षअघि मात्र नपा घोषणा भएको गढिमाईमा कलैयाको एउटा वडासमेत गाभेर उपमहानगरपालिका घोषणा गरेपछि स्थानीय थप आक्रोशित बनेका हुन्। आयोगले कलैया नगरपालिकाको २१ नम्बर वडासहित अन्य केही गाविसलाई समेत समेटेर जितपुर–सिमरामा केन्द्र रहने गरी साविकको गढिमाई नपालाई उपमहानगरपालिका बनाउने सिफारिस गरेको छ। उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साह ०३९ सालमा नगरपालिका घोषणा भएको र जिल्ला सदरमुकामसमेत रहेको कलैयालाई उपमहानगरपालिका घोषणा गर्दा उपयुक्त हुने बताउँछन्। ‘केही सभासद् र आयोगका पदाधिकारी पूर्वाग्रही देखिए’, साहले भने– ‘कलैयालाई उपमहानगरपालिका घोषणा गराएपछि मात्र आन्दोलन रोकिन्छ।’

प्रतिक्रिया दिनुहोस्