बन्ने भयो मधु मालती



शिशिर चालिसेको डेब्यु निर्देशन र कथा तथा तारा शंकर फिल्म्स्को ब्यानरमा फिल्म मधु मालती निर्माण गरिने भएको छ। राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्म निर्माणको घोषणा गरेको हो।
प्रेमकथामा आधारित भनिएको फिल्ममा शंकर कार्कीको निर्माण रहनेछ।

कार्यक्रममा बोल्दै निर्देशक शिशिर चालिसेले सहायक निर्देशकबाट बटुलेको अनुभवका आधारमा फिल्म निर्देशन गर्न लागेको बताए। ‘मसँग चिनेको अनुहार त छैन, तर मैले मेहनती र इमान्दार कलाकार लिएर काम गरेको छु। फिल्ममा कुनै पनि हिसाबले कमी हुने छैन’, उनले भने– ‘डेब्यु नायक र नायिका लिएर डेब्यु निर्देशन गर्न लागेको हुँ।’ यही फिल्मबाट रजतपटमा डेब्यु गर्न लागेका नायक अनुरूप पोखरेलले मधु मालतीमा काम गर्न लाग्दा निकै उत्साहित भएको बताए। ‘मधु मालतीमा मेन रोलमा खेल्न पाउँदा खुसी व्यक्त गर्ने शब्द नै पाएको छैन’, उनले भने– ‘डाइरेक्टरले फिल्ममा खेल्ने चाहना भए १५ दिनमा ६ किलो वेट घटाउनु भनेपछि त्यो पनि गरेको छु।’ डेब्यु नायिका कुसुम नेपालले आफूलाई फिल्मको कथा मन परेकाले फिल्ममा काम गरेको बताइन्। ‘अहिले फिल्मका लागि वर्कसप गरिरहेका छौं। योभन्दा पहिले म कुमारी ब्यांकमा काम गर्थें’ –उनले खुलाइन्। त्यसै गरी अभिनेता केशव भट्टराईले नयाँ जोस जाँगरसहितको टिममा आफूले पनि सानो भूमिकामा काम गरेको बताए। त्यस्तै अभिनेतृ रूपा रानाले नयाँ टिमसँग काम गर्न पाउँदा नयाँपनको महसुस भएको बताइन्।

आगामि फागुन १५ बाट छायांकन शुरु हुने फिल्ममा अनुरूप पोखरेल र कुसुम नेपालको साथमा केशव भट्टराई रूपा राना, सविन थापालगायतको अभिनय रहनेछ भने छायांकन नवराज उप्रेती, गायन मेलिना राई, किरण घिमिरे, मिलन सुर्खेती र दावा दोर्जे तथा संगीत दावा दोर्जे लामा र मिलन सुर्खेतीको रहनेछ।

प्रतिक्रिया दिनुहोस्