इशु मिस नेवाः



नेवार सुन्दरीहरुबीच राजधानीमा भएको सौन्दर्य प्रतियोगितामा इशु श्रेष्ठ १२औं मिस नेवाः ११३७ भएकी छिन्। नेप्लिज फेसन होमद्वार बुधबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित प्रतियोगितामा इशुले २७ नेवार सुन्दरी प्रतिस्पर्धीलाई पछाडि छोड्दै मिस नेवाः को ताज चुमेकी हुन्।

इशुले मिस नेवाः भएबापत ३० हजार रुपियाँ र चाँदीको ताज आफ्नो शीरमा चम्काएकी थिइन्। प्रतियोगितामा ओजश्वी श्रेष्ठ फस्ट रनर्सअप भएकी छिन् भने सृष्टि खड्गी सेकेन्ड रनर्सअप भएकी छिन्। ओजश्वी र सृष्टिले उपाधि जितेबापत क्रमशः २० र १५ हजार रुपियाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञाका रञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट, विनीता डंगोल मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठ मिस चार्मिङ, क्रिजना डंगोल बेस्ट स्माइल र सामाजिक सद्भाव दूत, लेनिना वज्राचार्य बेस्ट स्किन, समिता श्रेष्ठ बेस्ट हेयर, सलिना श्रेष्ठ मिस डिसिप्लेन, पल्पसा श्रेष्ठ मिस पर्सनालिटी, ओमिजिना महर्जन मिस पब्लिक च्वाइस भए।

उद्योग राज्यमन्त्री कृष्ण वादेको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायकमा बैंकर्स प्रदीपमान प्रधान, कार्टुनिस्ट रविन सायमी, पूर्व मिस नेपाल एलिसा वज्राचार्य, दन्त चिकित्सक शिक्षिता श्रेष्ठ, नमुन कलेज अफ फेसन टेक्नेलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ र नेपाल बुटिक एसोसियसनका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ थिए।

कार्यक्रममा गायिक निशा देशारको गायन र नेवा डान्स एकेडमीका कलाकारको नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्