भारतीय क्रिकेटरको चमत्कार



नयाँ दिल्ली, (एजेन्सी)
भारतीय क्रिकेटर मोहित अहलावटले चमत्कार ब्याटिङ गरेका छन् । दिल्लीमा भएको स्थानीय प्रतियोगिता टी२० क्रिकेटमा उनले ३ सय रन बनाएर असाधारण प्रदर्शन गरे । ७२ बलको सामना गरेका २१ वर्षीय क्रिकेटरले ३९ छक्का प्रहार गरेका थिए ।

मोहितको टिम माभीले २० ओभरमा २ विकेटको क्षेतिमा ४ सय १६ रनको विशाल योगफल समेत बनायो । उनले वेस्ट इन्डिजका क्रिस गेलले २०१३ को इन्डियन प्रिमियर लिगमा बनाएको १ सय ७५ रनलाई समेत सानो स्कोर साबित गरे । खेलपछि एबीपी लाइभमा मोहितले बताए—मैले मेरो नाम आईपीएल अक्सनमा राखे । तर मलाई पक्का भने छैन । शायद यसले ममाथि विश्वास गराउँला कि ।

मोहितले अक्टोबर २०१५ मा भारतीय अन्तर्राष्ट्रिय क्रिकेटर गौतम गम्भीर र इशान्त शर्मासँग पहिलो श्रेणीमा तीन खेल खेलेका थिए । उनले पाँच इनिङमा १,४,०,०,० को कमजोर ब्याटिङ गरेपछि उनलाई ड्रप गरिएको थियो ।

यसअघि पनि टी २० मा व्यक्तिगत ठूलो रन बनेको थियो । तर तीन सय रन बनाउनेमा मोहित पहिलो क्रिकेटर हुन् । २००७ सेप्टेम्बरमा इंग्ल्यान्डको सेडलवोर्थ लिगमा श्रीलंकाका धनुका पथीरानाले ७२ बलमा २ सय ७७ रन प्रहार गरेका थिए । त्यस्तै भारतका छात्र प्रणव धनवाडेले जनवरी २०१६ मा १ हजार ९ रनको नटआउट इनिङ खेलेर नयाँ कीर्तिमान रचेका थिए ।

प्रतिक्रिया दिनुहोस्